नेप्से स्थिर, कारोबार रकम दोब्बरभन्दा धेरै
माघ १८, काठमाडौं (अस)। साताको तेस्रो दिन मङ्गलवार नेप्से केही अङ्कले घटे पनि कारोबार रकममा भने सुधार आएको छ । मङ्गलवार नेप्से शून्य दशमलव शून्य ९ अङ्कले घटेर ४ सय १० दशमलव ४८ मा सीमित भयो । तर, पछिल्ला दिनमा रू. १ करोड ५० लाखको हाराहारीमा हुँदै आएको कारोबार रकम मङ्गलवार बढेर ३ करोड ३१ लाखभन्दा माथि पुग्यो । पशुपति डेभलपमेण्ट बैङ्कका ५० हजार कित्ताभन्दा धेरै शेयर म्याचिङ कारोबार भएपछि कारोबार रकम ठूलो मात्रामा वृद्धि भएको हो । पशुपति डेभलपमेण्ट बैङ्कका कुल ५० हजार ८ सय ९० कित्ता शेयर विक्रीबाट रू. ५९ लाख ५४ हजारभन्दा बढीको कारोबार भएको छ । सो बैङ्कका ५० हजार कित्ता शेयर १८ नम्बर ब्रोकरबाट खरीद विक्री भएका थिए । नेपालको शेयर बजारमा लामो समयदेखि सक्रिय एक समूहले उक्त परिमाणका शेयर विक्री गरेको खुलेको छ । मङ्गलवार नेप्से ओरालो लागेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद विक्री-गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे । अन्य दिनको तुलनामा मङ्गलवार निकै उतारचढाव देखिएको शेयर बजारमा जलविद्युत्, वित्त कम्पनी र ट्रेडिङ समूहका परिसूचकमा भएको उल्लेख्य वृद्धिले पनि नेप्से बढाउन सकेन । जलविद्युत् र ट्रेडिङ समूहका परिसूचक क्रमश: ७ दशमलव १७ र ४ दशमलव ८८ अङ्कले बढे । चिलिमेको शेयर मूल्य रू. २५ ले बढेपछि जलविद्युत् र विशाल बजार कम्पनीको शेयर मूल्य रू. ५७ ले बढेपछि ट्रेडिङ समूहको परिसूचक बढेको हो । कारोबारमा आएका ८ मध्ये वित्त र होटल समूहको परिसूचक पनि सामान्य बढे भने 'अन्य', विकास बैङ्क, बैङ्किङ र बीमा समूहका परिसूचक घटे ।
मङ्गलवार कारोबारमा आएका कम्पनी, कारोबार सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै बढेको छ । मङ्गलवार १ हजार ५ सय ९८ कारोबारबाट ८० कम्पनीका १ लाख ४७ हजार ७ सय २० कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. ३ खर्ब ५८ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलबार कारोबारमा आएका मध्ये ३० कम्पनीको शेयर मूल्य घटयो, ३४ कम्पनीको शेयर मूल्य बढयो भने १५ कम्पनीको शेयर मूल्य स्थिर रहयो । शेयर सङ्ख्या र कारोबार रकमका आधारमा पशुपति डेभलपमेण्ट बैङ्क सबैभन्दा अगाडि रहयो । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहयो । ज्योति विकास बैङ्कका शेयर २ सय ८६ पटक किनबेच भएका थिए ।
मङ्गलवार विशाल बजार कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रू. ५७ ले बढयो भने, माछापुच्छ्रे बैङ्कको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै रू. २ सय ७७ ले घटयो । मङ्गलवार विश्व विकास बैङ्कको शेयर पहिलोपटक किनबेच भयो । यस बैङ्कका १० कित्ता शेयरको कारोबारबाट रू. ३ सय ३१ प्रतिशेयर मूल्य कायम भएको छ ।