शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शेयर बजारमा अतिरिक्त चलखेल
पुस १८, काठमाडौं (अस )। साताको पहिलो दिन आइतवार नेप्से परिसूचक झण्डै साढे तीन अङ्कले घटेर ४ सय दशमलव ६२ मा सीमित भयो । लगातार तीन दिनको बिदापछि खुलेको नेप्सेमा वित्त कम्पनी समूहबाहेकका सबै समूहका परिसूचक बियरिश बनेपछि नेप्से ओरालो लागेको हो । अर्थमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय वित्तीय क्षेत्र अनुगमन समिति गठन गरेर शेयर बजार सुधार हुने गरी नयाँ नीति बनाउने कुरा हल्लामा मात्रै सीमित भएपछि नेप्से घटेको लगानीकर्ताको अनुमान छ । विभिन्न हल्ला फिँजाएर बजार प्रभावित पार्ने र त्यसबाट फाइदा लिने प्रवृत्ति पुनः हाबी हुन लागेको आशङ्का साना लगानीकर्ताहरूले गरेका छन् । 'पहिला पनि यस्तै हल्ला फिँजाएर बजारका ठूला खेलाडीहरूले नाफा कमाउने गर्थे,' साधारण लगानीकर्ता सङ्घका एक सदस्यले भने, 'अहिले पनि त्यस्तै प्रवृत्ति देखिन थालेको छ ।' सरकार तथा नियामक निकायहरूले दिने आश्वासनको निहुँ बनाएर केही खेलाडीले बजार प्रभावित पार्ने गरेको उनको विश्लेषण छ ।

आइतवार नेप्से ओरालो लागेपछि नेप्सेमा सूचीकृत 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो । कुल ६ समूहको कारोबार भएकामा 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै लगभग ६ अङ्कले घटयो भने बजारको सबैभन्दा धेरै हिस्सा ओगट्ने बैङकिङ समूहको परिसूचक लगभग ४ अङ्क तल झर्यो । नेप्सेमा सूचीकृत ठूला वाणिज्य बैङ्क र नेपाल टेलिकमको शेयरमा बढी उतारचढाव भएकाले यस्तो भएको अनुमान छ । आइतवार नेप्सेमा ह्रास आए पनि कारोबार रकम, शेयर सङ्ख्या, कारोबार सङ्ख्या तथा कुल बजार पूँजीकरणमा भने खासै कमी आएन । आइतवार १ हजार ६ सय ३६ कारोबारबाट ७४ कम्पनीका १ लाख १५ हजार १ सय ८९ कित्ता शेयर किनबेच भई रू. २ करोड ४८ लाख ८९ हजारभन्दा धेरै रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४७ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो ।

आइतवार कारोबार रकम र शेयर सङ्ख्याका आधारमा यती फाइनान्सको संस्थापक शेयर अग्रस्थानमा रहयो । यसका ३९ हजार ६ सय ५२ कित्ता शेयर किन-बेच भएर रू. ५१ लाखभन्दा धेरैको कारोबार भयो । ती शेयर ३२ नम्बर ब्रोकरबाट विक्री भए भने ७ नम्बर ब्रोकरबाट खरीद भएको देखिन्छ । कारोबार सङ्ख्याका आधारमा १ सय ९३ कारोबारसहित कृषि विकास बैङ्क सबैभन्दा अघि रहयो । आइतवार लर्डबुद्ध फाइनान्सियल इन्षिटच्युसनको शेयर सबैभन्दा धेरै २० प्रतिशत सस्तो भयो भने मितेरी डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै लगभग ५ प्रतिशत महँगो भयो ।