४६ कम्पनीको शेयरमूल्य घटयो
साउन १८, काठमाडौं (अस)। बुधवार 'क’ वर्गमा सूचीकृत २९ कम्पनीसहित कुल ४६ कम्पनीको शेयरमूल्य घटेपछि नेप्से परिसूचक १ दशमलव ७ अङ्कले घटयो । विभिन्न समूहमा सुचीकृत ती कम्पनीको शेयरमूल्य शून्य दशमलव १० देखि ९ दशमलव २३ प्रतिशतसम्म घटयो । कारोबार अवधिभर घटेको नेप्से परिसूचक कारोबारको मध्य समयदेखि बढ्ने प्रयासमा रहेर बन्द भयो । नेप्से ३ सय ५५ दशमलव ९२ बिन्दुमा कारोबार बन्द भएको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्नसक्ने शेयरहरूको फ्लोट परिसूचक पनि घटे ।
बुधवार खरिद-विक्री भएका सात समूहमध्ये बीमा समूहको परिसूचक शून्य दशमलव ८३ अङ्कले बढयो, होटल समूहको परिसूचक स्थिर रह्यो भने बाँकी सबै परिसूचक घटे । जलविद्युत्, बैङकिङ, 'अन्य’, वित्त कम्पनी र विकास बैङ्क समूहको परिसूचक क्रमश: ५ दशमलव ९९, २ दशमलव २, १ दशमलव १७, शून्य दशमलव ७८ र शून्य दशमलव १८ अङ्कले घटेका छन् । सो दिन जलविद्युत् समूहअन्तर्गतको बुटवल हाइड्रोपावर कम्पनीको ४ हजार ४ सय ९२ शेयर रू. २३ ले मूल्य घटेर किनबेच भएपछि सो समूहको परिसूचक घटेको हो । बैङ्किङ समूहका नेपाल एसबीआई, माछापुच्छ्रे, एभरेष्ट, नबिल, स्ट्याण्डर्ड चार्टर्डलगायत बैङ्कको शेयरमूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक घटेको हो ।
त्यसैगरी, नेपाल टेलिकमको शेयरमूल्य घटेपछि 'अन्य’ समूहको र अन्नपूर्ण, अरनिको, गण्डकी विकास बैङ्कलगायत विकास बैङ्कको शेयरमूल्य घटेपछि सो समूहको परिसूचक घटयो । भाजुरत्न फाइनान्स, प्रभु फाइनान्स, लर्डबुद्ध फाइनान्सको शेयरमूल्य घटेपछि वित्त कम्पनी समूहको परिसूचक घटयो ।
बुधवार कम्पनी, खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन सबै बढे । १ हजार २ सय ४७ खरीद-विक्रीबाट ८४ कम्पनीका १ लाख ३५ हजार ८ सय ३४ शेयर किनबेच भए । त्यसबाट रू.२ करोड ८९ लाखबराबरको रकम परिचालन भएको छ भने रू. ३ खर्ब १७ अर्बको कुल बजार पूँजीकरण भयो । बुधवार ३१ कम्पनीको शेयरमूल्य बढयो भने ७ कम्पनीको को स्थिर रह्यो ।
बुधवार खरीद-विक्री सङ्ख्याको आधारमा ज्योति विकास बैङ्क र शेयर सङ्ख्याको आधारमा भिबोर विकास बैङ्क अग्रस्थानमा रहे । ज्योतिका १ सय ७ कारोबार भए भने भिबोर विकास बैङ्कका २३ हजार ८ सय १० कित्ता शेयर किनबेच भए । रकम परिचालनका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । बैङ्कको ११ हजार ६ सय ८७ शेयर किनबेच भई रू. ६२ लाख ७३ हजार रकमको कारोबार भयो । सो दिन हिमालयन बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २४ ले बढयो भने स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३० ले घटयो ।
Admin 2011-08-04