शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से साढे तीन अङ्क तल, कारोबार रकम १० गुणा बढयो
असार १९,काठमाडौं (अस)। आइतवार नेप्से परिसूचक ३ दशमलव ४५ अङ्कले घटेको छ । गत साताको अन्तिम दिन ३ दशमलव ७६ अङ्कले बढेर ३ सय ३६ दशमलव ६९ मा पुगेको नेप्से परिसूचक आइतवार ३ सय ३३ दशमलव २४ मा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने झण्डै १० गुणाले बढयो । लक्ष्मी बैङ्कका साढे सात लाख कित्ता शेयर नियोजित रूपमा म्याचिङ भएर रू. १८ करोड ४५ लाखभन्दा बढीको कारोबार भएकाले समग्र नेप्सेको कारोबार बढेको हो । गत साताका अन्तिम दुई दिन नै नेप्से लगातार उकालो लाग्दा शेयर बजारमा सुधार आएको लगानीकर्ताहरूले अनुमान गरेका थिए । आइतवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।

आइतवार आठ समूहको कारोबार भएकोमा होटेल, वित्त कम्पनी र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढे भने बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, बीमा र 'अन्य' समूहका परिसूचक घटे । आइतवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव शून्य २ अङ्कले बढयो भने वित्त कम्पनी समूहको परिसूचक सबै भन्दा थोरै शून्य दशमलव १५ अङ्कले बढयो । उत्पादन तथा प्रशोधन समूहअन्तर्गत युनिलिभर नेपाल र बोटलस नेपाल (तराई) को शेयर मूल्य क्रमश: रू. ९६ र ३० ले बढेपछि समूहकै परिसूचक बढेको हो । आइतवार नेपाल दूरसञ्चार कम्पनीको एकाधिकार रहेको 'अन्य' समूहको परिसूचक १६ दशमलव ४५ अङ्कले घटेको छ । सो कम्पनीको शेयरमूल्यमा रू. १४ ले कमी आएपछि अन्य समूहको परिसूचक दोहोरो अङ्कले घटेको हो । त्यसैगरी सोही दिन बीमा समूहको परिसूचक ६ दशमलव ४ अङ्कले घटेको छ । यो समूहअन्तर्गत लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य क्रमश: २७ र २४ रुपैयाँले घटेपछि समूहकै परिसूचक ओरालो लागेको हो ।  

शेयर बजारमा निरन्तर उतारचढाव ल्याइरहने बैङ्किङ समूहको परिसूचक आइतवार १ दशमलव ४८ अङ्कले घटयो । सो समूहअन्तर्गत नेपाल एसबीआई बैङ्क, कुमारी बैङ्क, हिमालयन बैङ्कलगातयको शेयरमूल्य बढे पनि नबिल र लक्ष्मी बैङ्कको शेयरमूल्य क्रमश: ७५ र २६ रुपैयाँले घटेपछि समग्र समूहकै परिसूचक घटेको हो ।

आइतवार १ हजार ४७ कारोबारबाट ७६ कम्पनीका ८ लाख ७३ हजार ३ सय २९ कित्ता शेयर किनबेच भए । सो कारोबारबाट रू.२० करोड ८१ लाख परिचालन भयो भने रू.२  खर्ब ९७ अर्ब बजार पूँजीकरण भयो । त्यसैगरी, एनसीएम म्युचुअल फण्डको प्रतिएकाइ मूल्य सबैभन्दा धेरै १० प्रतिशत सस्तियो भने सिध्दार्थ बैङ्कको प्रतिशेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ५९ प्रतिशत महँगो भयो ।

Admin 2011-07-04