शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

लादेन-असर परेन नेप्सेमा
वैशाख १९, काठमाडौं (अस)। अन्तरराष्ट्रिय शेयर बजारमा ओसामा विन लादेनको मृत्युको खबरसँगै सुधार देखिए पनि नेप्सेमा भने यसको खासै असर परेन । जापानमा मार्चमा आएको सुनामीपछि पहिलोपटक त्यहाँको स्टक परिसूचक निक्केइ २२५ पनि यो खबरपछि १ दशमलव ६ प्रतिशतले बढेको छ । चीन, हङ्कङ, सिङ्गापुर, मलेसियालगायतमा भने सोमवार सार्वजनिक बिदा परेकाले मङ्गलवारको कारोबारमा  मात्र यसको प्रभाव देखिने छन् । सातामा भएको पहिलो दिनको कारोबारमा नेप्से ३ दशमलव १४ अङ्कले घटेर ३ सय ४४ दशमलव ५८ बिन्दुमा आइपुगेको छ । 'अन्य’ र बीमा समूहको परिसूचक उच्च दरले र बैङ्किङ, विकास बैङ्क र जलविद्युत् समूहको परिसूचक केही घटेपछि नेप्से पनि घटयो । यसदिन नेशनल हाइड्रोपावर कम्पनीको १८ हजार कित्ता शेयर विभिन्न ब्रोकरबीच बल्क म्याचिङ कारोबार भएको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटेको छ ।

सोमवार कारोबारमा आएका पाँचमध्ये वित्त समूह मात्र सामान्य बढयो । सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको शेयर मूल्य रू. ३२ ले बढेर कारोबार भएपछि वित्त समूहको परिसूचक बढेको हो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू. ६ ले घटेर कारोबार भएपछि 'अन्य’ समूहको परिसूचक घटयो । एशियन, नेपाल, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू.१५ देखि ५३ सम्मले घटेपछि बीमा समूहको परिसूचक घटेको हो ।

सोमवार ७४ कम्पनी २ हजार ५७ कारोबारबाट ९४ हजार ९ सय १८ शेयर किनबेच भएका छन् । यसबाट रू. १ करोड ८९ लाख ६६ हजारभन्दा बढी रकम परिचालन भएको छ भने रू. ३ खर्ब ६ अर्ब कुल बजार पूँजीकरण भएको छ । कारोबारमा आएका मध्ये ४१ कम्पनीको शेयरमूल्य घटयो, २१ कम्पनीको बढयो भने बाँकीको स्थिर रह्यो । यसदिन कारोबार सङ्ख्याको आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क र शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे ।  गौरीशङ्करको ७ सय ६ कारोबार भयो भने नेशनल हाइड्रोको १८ हजार ६ सय कित्ता शेयर किनबेच भए । त्यसैगरी बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. ३० लाख ३१ हजारभन्दा बढी रकमको कारोबार भयो । यसदिन सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको शेयरमूल्य सबैभन्दा धेरैले बढयो भने नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ५३ ले घटयो ।

Admin 2011-05-03