अधिकांश कम्पनीको शेयर मूल्यसँगै नेप्से ओरालो
भदौ १९, काठमाडौं (अस) । मङ्गलवार कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घटेर किनबेच भएपछि नेप्से बढ्न सकेन । कुल ७७ कम्पनीको शेयर खरीद-विक्री भएकोमा जम्मा १५ कम्पनीको मात्र शेयरमूल्य बढयो भने ४८ कम्पनीको शेयरमूल्य घटयो । 'अहिले नेपाल धितोपत्र बोर्ड अध्यक्ष विहीन छ, जसले गर्दा प्रक्रिया अगाडि बढेका कतिपय नीतिगत सुधारका कार्य भएका छैनन्,’ नेपाल धितोपत्र दलाल सङ्घका अध्यक्ष अञ्जनराज पौडयालले भने । शेयर बजार घट्न यस्ता कुरा पनि सहायक हुने पौडयाल बताँछन् । हाल सीडीएस एण्ड क्लियरिङ कम्पनीको विनियमावली स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पुगेको छ । सो विनियमावलीको पारित बोर्डका अध्यक्ष सम्मिलित सञ्चालक समितिले गर्छ ।
नबिल बैङ्कलगायत ठूला कम्पनीहरूले निकै कम लाभांश वितरण गरेकाले पनि लगानीकर्ताहरूमा शेयर बजारप्रति उत्साहित नभएको ब्रोकरहरू बताउँछन् । मङ्गलवार नेप्से शून्य दशमलव ८४ प्रतिशतले घटेर ३ सय ३६ दशमलव २२ बिन्दुमा आइपुगेको छ । नेप्सेसँगै, सेन्सेटिभ र फ्लोट पनि घटे ।
मङ्गलवार कारोबारमा आएका सात समूहमध्ये 'अन्य’ समूहको परिसूचकमात्र बढेको छ । नेपाल टेलिकमको शेयर मूल्य रू. ५ ले बढेपछि यो समूहको परिसूचक १ दशमलव २२ प्रतिशतले बढेको हो । त्यसैगरी, बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, बीमा, व्यापारमूलक कम्पनी र वित्त कम्पनी समूहको परिसूचक घटे । यी समूहको परिसूचक क्रमश: १ दशमलव ९७, शून्य दशमलव ७९, शून्य दशमलव ६१, शून्य दशमलव २४, शून्य दशमलव १८ र शून्य दशमलव शून्य २ प्रतिशतले घटे ।
मङ्गलवार खरीद-विक्री सङ्ख्या र शेयर सङ्ख्या बढे पनि कम्पनी सङ्ख्या, रकम परिचालन र कुल बजार पूँजीकरण भने घटे । कुल १ हजार २ सय ७५ खरीद-विक्रीबाट ७७ कम्पनीका १ लाख ७ हजार २५ शेयर किनबेच भए, जसबाट रू. २ करोड ५९ लाखभन्दा बढी रकम परिचालन भयो भने रू. २ खर्ब ९९ अर्बको कुल बजार पूँजीकरण भयो ।
शेयर खरीद-विक्रीका आधारमा भ्याली फाइनान्स र शेयर सङ्ख्याका आधारमा भिबोर विकास बैङ्क अग्रस्थानमा रहे । भ्याली फाइनान्सको शेयर १ सय ९ पटक किनबेच भयो भने भिबोरको १७ हजार ८ सय १० शेयर खरीद-विक्री भए । रकम परिचालनका आधारमा रू. ७२ लाख ८० हजार ७ सय ३ रकमको कारोबार भएको बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । सो दिन प्रतिशतका आधारमा सबैभन्दा धेरै प्रभु फाइनान्सको शेयरमूल्य ५ दशमलव ३७ प्रतिशतले बढयो भने अन्नपूर्ण विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ४३ ले घटयो ।
Admin 2011-09-06