शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बैङ्किङ समूहले घटायो नेप्से
माघ १९, काठमाडौं (अस)। साताको चौथो दिन बुधवार पनि नेप्सेमा सुधार हुन सकेन ।  जलविद्युत्, बैङ्किङ, वित्त कम्पनी र विकास बैङ्क समूहका परिसूचक घटपछि नेप्से करीब ३ अङ्कले घटयो । नेप्से अघिल्लो दिनको तुलनामा २ दशमलव ५१ अङ्कले घटेर ४ सय ७ दशमलव ९७ अङ्कमा सीमित भएको छ । नेप्सेमा महत्त्वपूर्ण स्थान ओगट्ने बैङ्किङ समूहका एभरेष्ट, कुमारी, नेपाल इन्भेष्टमेण्ट बैङ्क र अन्य समूहअन्तर्गतको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको शेयर मूल्यमा आएको कमीले नेप्से घट्न पुगेको हो । होटल र बीमा समूहको परिसूचकमा भएको वृद्धिले नेप्सेलाई घट्नबाट रोक्न सकेन । एभरेष्ट, नेपाल इन्भेष्टमेण्ट र कुमारी बैङ्कको शेयर मूल्यमा क्रमशः रू. ४९, ११ र ६ ले कमी आएको छ ।  नेप्सेको घट्ने क्रमसगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटेका छन् ।

अघिल्लो दिन बढेको नेप्सेको कारोबार रकम बुधवार पुनः घटेको छ ।  अघिल्लो दिनको तुलनामा बुधवारको कारोबार रकम करीब सवा करोड कमी भई रू. २ करोड १५ लाखमा सीमित भएको छ । कारोबार शुरू भएपछि घट्न शुरू गरेको नेप्से दिनभरि कुनै सुधार हुन नसक्दा कारोबार बन्द हुने समयसम्म नेप्से घट्ने क्रम जारी रहयो ।

अघिल्लो दिनको तुलनामा कारोबारमा आएका कम्पनी, कारोबार सङ्ख्या र शेयर सङ्ख्यामा पनि कमी आएको छ । बुधवार १ हजार ५ सय ९४ कारोबारमार्फ ७९ कम्पनीका कुल ७७ हजार ९ सय ५५ कित्ता शेयर किनबेच भए । बुधवार कारोबारमा आएकामध्ये ३७ कम्पनीको शेयर मूल्य बढयो, ३२ कम्पनीको शेयर मूल्य घटयो भने १० कम्पनीको स्थिर रहयो । बुधवार विशाल बजार कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रू. ५९ ले बढयो भने एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ४९ ले घटयो । कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्कका सबैभन्दा धेरै २ सय ४८ कारोबारमार्फत ८ हजार ३ सय ४० कित्ता शेयर किनबेच भए । कारोबार रकमका आधारमा रू. १८ लाख ८७ हजारबराबरको कारोबार हुँदा बैङ्क अफ काठमाण्डू सबैभन्दा अगाडि रहयो । यसैगरी नेपाल फाइनान्स कम्पनीले अघिल्लो दिनको प्रतिशेयर मूल्यको तुलनामा २२ दशमलव ६२ प्रतिशत घाटा बेहोरेको छ भने, बुटवल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ९ दशमलव ८९ प्रतिशतले वृद्धि भयो ।