शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से बढ्न सकेन, लगानीकर्ता निराश
अभियान संवाददाता

मङ्सिर १९, काठमाडौं । आव २०६७/६८ को बजेट अध्यादेशमार्फत घोषणा भएपछि घट्न शुरू गरेको नेप्स परिसूचक आइतवार पनि घटयो । साधारणतया आइतवारको  कारोबारले साताभरिको शेयरबजारको प्रवृत्ति देखाउने विश्वास गरिन्छ । आइतवार नेप्से घटेपछि साताभरी नै शेयरबजार घट्ने हो कि भन्ने डर लगानीकर्ताहरूमा देखिएको छ ।

आइतवार नेप्से १ अङ्कले घटेर ४ सय ७ दशमलव ८५ कायम भयो । नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारणले सजिलै खरीदविक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक 'फ्लोट परिसूचक' पनि ओरालो लागे । शेयर बजारमा बाहुल्यता रहेका बैङ्किङ, वित्त कम्पनी र जलविद्युत् समूहको परिसूचक घटेपछि यसको प्रत्यक्ष असर नेप्सेमा देखिएको हो । आइतवार बैङ्किङ समूहका एभरेष्ट बैङ्क, लक्ष्मी बैङ्क र लुम्बिनी  बैंकको प्रतिशेयर मूल्य रू. १५ भन्दा बढीले घटेपछि बैङ्किङ समूहको परिसूचक घटेको हो । त्यसैगरी वित्त समूहका प्रभु फाइनान्स, युनिक फाइनान्सियल इन्षिटच्युशनको शेयर मूल्य रू. २५ भन्दा बढीले घटयो । अरुण भ्याली हाइड्रोपावर र नेशनल हाइड्रोपावरको शेयर मूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक पनि ओरालो लाग्यो ।

आइतवार १ हजार ६ सय १३ कारोबारबाट ९१ हजार ७ सय २८ कित्ता शेयर खरीदविक्री भएर रू. २ करोड ३९ लाखभन्दा बढी रकम परिचालन भयो । त्यसैगरी रू. ३ खर्ब ४९ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो । आइतवार कारोबार भएका ७७ कम्पनीमध्ये ४७ कम्पनीको शेयर मूल्य घटयो, २० कम्पनीको शेयर मूल्य बढयो भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहयो ।

आइतवार कारोबार सङ्ख्या र शेयर सङ्ख्याका आधारमा मनकामना डेभलपमेण्ट बैङ्क सबैभन्दा अघि रहयो । मनकामना डेभलपमेण्ट बैङ्कका २ सय ३० कारोबारबाट ११ हजार ४ सय १० कित्ता शेयर खरीद-विक्री भए । त्यसैगरी, कारोबार रकमको आधारमा एनआईडीसी क्यापिटल मार्केट सबैभन्दा अगाडि रहयो । एनआईडीसीको रू. २३ लाख २६ हजारको कारोबार भयो । यस दिन प्रभु फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रू. ३० ले घटयो भने डिप्रोक्स डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ११ ले बढयो ।