शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दुई हप्तापछि नेप्सेमा वृद्धि
साउन १९, काठमाडौं (अस)। बिहीवार नेपाल टेलिकमको शेयरमूल्य कारोबारको अन्तिम समयमा बढेपछि नेप्से करीब २ अङ्कले बढयो । कारोबारको शुरूमा टेलिकमको शेयरमूल्य रू. २ सम्म बढेको भए पनि मध्यतिर किनबेच भएका शेयर सङ्ख्या पनि बढ्दै जाँदा मूल्य घटेको थियो । तर, अन्तिम समयमा शेयरमूल्य बढेपछि नेप्से बढ्न सहयोग पुगेको हो । यसरी अन्तिम समयमा शेयर बढ्ने अन्य कम्पनीहरूमा नबिल र एभरेष्ट बैङ्क पनि छन् । बिहीवार अन्तिम समयमा नेप्से १ दशमलव ७३ अङ्कले बढेर ३ सय ५७ दशमलव ६५ बिन्दुमा पुग्यो । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको फ्लोट परिसूचक पनि बढे ।

बिहीवार खरिद-विक्री भएका सात समूहमध्ये 'अन्य’, विकास बैङ्क, बीमा र बैङ्किङ समूहको परिसूचक बढे । यी समूहको परिसूचक क्रमश: ११ दशमलव ७५, शून्य दशमलव ९४, शून्य दशमलव ७५ र शून्य दशमलव ३ अङ्कले बढेका छन् । जलविद्युत्, वित्त कम्पनी र उत्पादन तथा प्रशोधनमूलक कम्पनीको शेयरमूल्य घटे । यी समूहको परिसूचक क्रमश: ५ दशमलव ७७, शून्य दशमलव ७५ र शून्य दशमलव ११ ले घटे । सो दिन जलविद्युत् समूहअन्तर्गत कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य घटेपछि सो समूहको परिसूचक घटेको हो । दुई हप्तापछि कारोबारमा आएको नेपाल बोटलर्स (बालाजु) को शेयरमूल्य रू. १ ले घटेपछि उत्पादन तथा प्रशोधनमूलक समूहको परिसूचक घटयो ।

बिहीवार खरीद-विक्री सङ्ख्या र कुल बजार पूँजीकरण बढे पनि कम्पनी, शेयर सङ्ख्या, रकम परिचालन भने घटे । ८१ कम्पनीका १ हजार ३ सय ७८ खरीद-विक्रीबाट १ लाख १२ हजार २ सय २५ शेयर किनबेच भए, जसबाट रू.२ करोड २१ लाख बराबरको रकम परिचालन भयो भने रू. ३ खर्ब १८ अर्बको कुल बजार पूँजीकरण भयो । ४२ कम्पनीको शेयरमूल्य बढ्यो, ३१ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको  स्थिर रह्यो ।  

खरीद-विक्री सङ्ख्याका आधारमा हिमालयन फाइनान्स र  शेयर सङ्ख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । फाइनान्सको १ सय ६२ पटक खरीद-विक्री भयो भने नेशनलको १५ हजार ९ सय ११ कित्ता शेयर किनबेच भए । रकम परिचालनको आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । बैङ्कको ११ हजार ६ सय ८७ शेयर किनबेच भई रू. २५ लाख १४ हजार रकमको कारोबार भयो । सो दिन एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १५ ले बढयो भने चिलिमे जलविद्युत्को शेयरमूल्य सबैभन्दा धेरै रू. १६ ले घटयो । प्रतिशतको आधारमा भने सबैभन्दा धेरै मूल्य गुमाउनेमा हिमालयन फाइनान्स (७ दशमलव ५९) र सबैभन्दा धेरै कमाउनेमा सेवा विकास बैङ्क (९ दशमलव ३२ प्रतिशत) रहेका छन् ।

Admin 2011-08-05