नेप्सेमा सामान्य वृद्धि
असार २०, काठमाडौं (अस) । आइतवार ३ अङ्कले घटेको नेप्सेमा सोमवार भने सामान्य वृद्धि भयो । कारोबार रकम भने औसत दिनहरूमा भन्दा बढी छ । आइतवार ठूलो रकमको एक कारोबारमा विक्रीकर्ताको नाम गलत भएपछि त्यसैलाई सच्याउँदा कारोबार रकम औसतभन्दा बढी देखिएको बुझिएको छ । आइतवार भएको लक्ष्मी बैङ्कको शेयर कारोबारमा विक्रीकर्ताको नाम पुनम खेतान हुनुपर्नेमा थर अग्रवाल भएपछि त्यो सच्याइएको बुझिन्छ । सोमवार यो कारोबार ब्रोकर नम्बर ६ र १४ बीच भएको हो । यसबाट रू. १ करोड ३६ लाख रकम कारोबार भएको छ । यस दिन बैङ्क अफ काठमाण्डूको पनि रू. १ करोड ६ लाखको कारोबार भएको छ । विभिन्न ब्रोकरमार्फत त्यो कारोबार भएको देखिन्छ । यद्यपि खरीद-विक्री भएका बैङ्कका शेयरहरू पनि गोर्खा विकास बैङ्क प्रकरणका आरोपी राकेश अकुडियाको भएको बुझिएको छ । सोमवार नेप्से शून्य दशमलव ७ अङ्कले बढेर ३ सय ३३ दशमलव ९४ मा बन्द भयो भने रू. ५ करोड ३० लाखभन्दा बढीको रकम परिचालन भयो । सोमवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने बढेका छन् ।
सोमवार सात समूह कारोबारमा आए । कारोबारमा आएका जलविद्युत्, 'अन्य’, उत्पादन तथा प्रशोधन र बैङ्किङ समूहको परिसूचक क्रमश: ७ दशमलव ५२, ५ दशमलव ८८ , २ दशमलव १९, र शून्य दशमलव ५२ ले बढे ।
सोमवार कारोबार सङ्ख्या बढे पनि शेयर, कम्पनी सङ्ख्या र रकम परिचालन सामान्य घटेका छन् । यस दिन ७५ कम्पनीका १ हजार १ सय ६० कारोबारबाट १ लाख ६८ हजारभन्दा धेरै शेयर किनबेच भए । त्यसबाट रू. २ खर्ब ९७ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३८ कम्पनीको शेयर मूल्य घटयो, २६ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।
यस दिन शेयर सङ्ख्या र कारोबार रकमको आधारमा लक्ष्मी बैङ्क अग्रस्थानमा रह्यो । कम्पनीको ५५ हजार ७ सय १५ शेयर किनबेच भएर रू. १ करोड ३६ लाखको कारोबार भयो । त्यसैगरी, स्वस्तिक मर्चेण्ट फाइनान्सको १ सय ३६ कारोबार भएर सबैभन्दा अग्रस्थानमा रह्यो । यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य सबैभन्दा धेरै रू. ४८ ले बढयो भने युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय ९५ ले घटयो ।
Admin 2011-07-05