दूरसञ्चारले घटायो नेप्से
वैशाख २०, काठमाडौं । मङ्गलवार 'अन्य’ समूहको परिसूचक १७ अङ्कभन्दा बढीले घटेपछि नेप्से ५ अङ्कले घटयो । नेपाल दूरसञ्चारका कर्मचारीको स्वामित्वमा रहेको शेयर आगामी साउनदेखि विक्री गर्न पाउने खबरले कम्पनीको शेयरमूल्य रू. १५ ले घटेपछि त्यसको प्रभाव अन्य समूह र नेप्सेमा परेको हो । नेपाल दूरसञ्चारका कर्मचारीले शेयर ग्रहण गरेको ३ वर्षपछि विक्री गर्न पाउने प्रावधान छ । यो कम्पनीका थप शेयर बजारमा आउने र शेयर प्रवाह बढ्ने डरले यसको शेयर मूल्य घटेको धितोपत्र लगानीकर्ता सङ्घका उपाध्यक्ष रमेशकुमार निरौलाले बताए । नेप्से निकै घटिरहेकाले अर्थमन्त्रालयमा अनुरोध गरेर शेयर विक्री केहीपछि सार्नुपर्ने उनको भनाइ छ । मङ्गलवार नेप्सेमा सूचीकृत सबै समूहका परिसूचक घटे । त्यसैगरी सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।
मङ्गलवार १६ कम्पनीको शेयरमूल्य रू.१० भन्दा धेरैले घटेको छ । यो अनुपातमा मूल्य घट्नेमा 'क’ वर्गमा सूचीकृत १० कम्पनी रहेका छन् । मङ्गलवार कारोबार बढे पनि शेयर सङ्ख्या र रकम परिचालन घटेको छ । यस दिन ७४ कम्पनीको २ हजार २ सय ६ कारोबारबाट ७२ हजार ४९ शेयर किनबेच भएका छन् । यसबाट रू. १ करोड ५६ लाखभन्दा बढीको रकम परिचालन भएको छ भने रू. ३ खर्ब १ अर्ब कुल बजार पूँजीकरण भएको छ ।
मङ्गलवार ४४ कम्पनीको शेयरमूल्य घटयो, २१ को शेयरमूल्य बढ्यो भने बाँकीको स्थिर रह्यो । यस दिन कारोबार सङ्ख्याका आधारमा ७ सय ३९ कारोबार भएको गौरीशङ्कर विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा ७ हजार ८ सय २० शेयर किनबेच भएको ज्योति विकास बैङ्क अग्रस्थानमा रह्यो । कारोबार रकमका आधारमा बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू. १९ लाख ७ हजार रकमको कारोबार भई अग्रस्थानमा रह्यो । यसदिन नेरुडे लघुवित्त विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू.१२ ले बढयो भने सिध्दार्थ बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २३ ले घटयो ।
Admin 2011-05-04