नेप्से ३ सय ३१ मा
अभियान संवाददाता
भदौ २०, काठमाडौं । साताको शुरूदेखि नै घट्न थालेको नेप्से परिसूचक मङ्गलवार पनि बढ्न सकेन । मङ्गलवार नेप्से १ दशमलव ३१ प्रतिशतले घटयो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि नेप्से घटेको हो । नेप्से ४ दशमलव ४१ अङ्कले घटेर ३ सय ३१ दशमलव ८१ बिन्दुमा आयो भने सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।
मङ्गलवार कारोबार भएका सबै ६ समूहका परिसूचक घटे पनि बैङ्किङ, जलविद्युत् र 'अन्य' समूहका परिसूचक उच्च अङ्कले घटे । ती समूहका परिसूचक क्रमश: ५ दशमलव ६२, ९ दशमलव ४६ र ५ दशमलव ८७ अङ्कले घटे । सो दिन कारोबारमा आएका ८० मध्ये ५२ कम्पनीको शेयर मूल्य घटेको छ । बैङ्किङ समूहबाट एनसीसी, माछापुच्छ्रे, नबिल, ग्लोबल, एनएमबीलागायत १७ बैङ्कको शेयर मूल्य घटेको छ । विकास बैङ्कतर्फा कामना, काबेली, अन्नपूर्ण, अल्पाइनलगायतका १७ विकास बैङ्कको र वित्त कम्पनी समूहका पाटन, सिभिल मर्चेण्ट, रिलायबललगायतका १२ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी, लाइफ इन्स्योरेन्स, प्राइम लाइफ, नेपाल लाइफ र सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेको छ । चिलिमे र अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर मूल्य घटेपछि जलविद्युत् समूहको परिसूचक घटेको हो ।
मङ्गलवार कम्पनी सङ्ख्या, खरीदविक्री र शेयर सङ्ख्या बढे पनि, रकम परिचालन र कुल बजार पूँजीकरण भने घटयो । कुल १ हजार २ सय ८९ खरीदविक्रीबाट ८० कम्पनीका १ लाख १३ हजार ७ सय ८० शेयर किनबेच भए । त्यसबाट रू. २ करोड ३२ लाखभन्दा बढी रकम परिचालन भयो भने रू. २ खर्ब ९५ अर्बको कुल बजार पूँजीकरण भयो ।
शेयर खरीदविक्रीको आधारमा कर्ण्ााली विकास र शेयर सङ्ख्याको आधारमा माछापुच्छ्रे बैङ्क अग्रस्थानमा रहे । कणार्ली विकासको शेयर १ सय ३४ पटक किनबेच भयो भने माछापुच्छ्रेको १४ हजार १ सय ६८ कित्ता शेयर खरीदविक्री भए । रकम परिचालनका आधारमा रू. ४२ लाख २६ हजार २ सय ७५ को कारोबार भएको बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । सो दिन प्रतिशतका आधारमा सबैभन्दा धेरै स्वावलम्बन विकास बैङ्कको शेयर मूल्य ९ दशमलव ७० प्रतिशतले बढयो भने अरुण भ्यालीको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ७९ ले घटयो ।
Admin 2011-09-07