नेप्सेमा बल्क म्याचिङ बढयो
माघ २०, काठमाडौं (अस)। पछिल्ला दिनहरूमा शेयर बजारमा ठूलो परिमाणका शेयरको म्याचिङ कारोबार बढेको छ । बिहीवार पनि यस्तै भयो । रकम परिचालनको आधारमा अग्रस्थानमा पर्ने केही कम्पनीहरूको म्याचिङ कारोबार भयो । सबैभन्दा धेरै रकम परिचालन भएको क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्सका २ लाख २३ हजार ८ सय कित्तामध्ये २ लाखभन्दा धेरै शेयर १९ नम्बर ब्रोकरबाट म्याचिङ भए । कुल रू. ३ करोड ४७ लाख ३९ हजारभन्दा बढी रकम परिचालन भएको क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्सको रू.३ करोड ४७ लाख ५ हजार त म्याचिङबाट मात्रै कारोबार भएको थियो ।
बिहीवार ज्योति विकास बैङ्क, गरिमा विकास बैङ्क, सिभिल मर्चेण्ट वित्तीय संस्थालगायत कम्पनीका शेयर पनि म्याचिङ भएको देखिन्छ । बल्कमा म्याचिङ कारोबार भएकाले बिहीवार नेप्से १ दशमलव १३ अङ्कले घटेर ४ सय ६ दशमलव ८४ मा पुगे पनि रकम परिचालन भने दोब्बरभन्दा धेरैले बढेर रू. ५ करोड ८२ लाख नाग्यो । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणहरूले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक घटे ।
बिहीवार कारोबारमा आएको ७ समूहमध्ये जलविद्युत्, विकास बैङ्क, 'अन्य', वित्त कम्पनी र बीमा समूहका परिसूचक बढे पनि नेप्से बढ्न सकेन । यी समूहको परिसूचक क्रमशः ३ दशमलव ४५, १ दशमलव २७, १ दशमलव १८, शून्य दशमलव ५९ र शून्य दशमलव ४ ले बढे । त्यस्तै, बैङ्किङ समूहको परिसूचक घटयो भने होटल समूहको स्थिर रहयो ।
बिहीवार कारोबारमा आएका कम्पनीहरूको सङ्ख्या, कारोबार सङ्ख्या र शेयर सङ्ख्या बढे पनि कुल बजार पूँजीकरण भने घटयो । बिहीवार १ हजार ७ सय ९७ कारोबारबाट ८१ कम्पनीका ३ लाख ७ हजार ३ सय ५५ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू. ३ खर्ब ५५ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । बिहीवार कारोबारमा आएकामध्ये ३८ कम्पनीको शेयर मूल्य बढयो, ३२ कम्पनीको शेयर मूल्य घटयो भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहयो । बिहीवार शेयर सङ्ख्या र कारोबार रकमका आधारमा क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्स अग्रस्थानमा रहयो । कारोबार सङ्ख्याका आधारमा ज्योति विकासका बैङ्कका सबैभन्दा धेरै ३ सय ८८ कारोबार भए । कारोबारमा आएकामध्ये हिमचुली विकास बैङ्क र सेवा विकास बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. १५ ले बढयो भने एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ६३ ले घटयो ।