शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से अझै ४ सयमुनि
पुस २०, काठमाडौं (अस)। साताको तेस्रो दिन मङ्गलवार नेप्से बढेर ४ सय बिन्दुको नजिक आइपुगेको छ । मङ्गलवार नेप्से १ दशमलव ५८ ले बढेर ३ सय ९९ दशमलव ५९ पुग्यो । सवा एक बजेतिर नेप्से घटेर ३ सय ९६ नजिक पुगे पनि त्यसपछि बढ्न थालेको हो । ओरिएण्टल होटलको शेयर मूल्य रू . २ ले घटे पनि सोल्टीको मूल्य रू.१६ ले बढेपछि होटल समूहको परिसूचकमा १७ दशमलव ३३ अङ्कको उच्च वृद्धि भयो । मङ्गलवार 'क' वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

मङ्गलवार बैङ्किङ समूहमा सूचीकृत एभरेष्ट , नबिल, एनआईसी र स्टयार्ण्र्डड चार्र्टर्ड बैङ्कको मूल्य बढेपछि बैङ्किङ समूहको परिसूचक पनि बढेको छ । एभरेष्ट बैङ्क र नबिल बैङ्कको शेयर मूल्य क्रमश रू.६० र १८ ले बढेको छ । त्यसैगरी लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बढेपछि बीमा समूहको परिसूचक बढेको छ । बैङ्किङ र बीमा समूहको परिसूचक क्रमशः २ दशमलव ७९ र १ दशमलव शून्य १ ले बढेको हो । मङ्गलवार नेपाल दूरसञ्चार कम्पनीको अन्तिम मूल्य अघिल्लो दिनकै बराबर भए पनि कारोबार भएको १ हजार १ सय ५० कित्ता शेयर मध्ये ७ सय ५० कित्ता मूल्य घटेर कारोबार भएपछि 'अन्य' समूहको परिसूचक ५ अङ्कले घटेको छ । चिलिमे हाइड्रोपावरको शेयर मूल्य रू. १८ ले घटेपछि जलविद्युत् समूहको परिसूचक पनि 'अन्य' समूहकै हाराहारीमा घटयो । मङ्गलवार विकास बैङ्कको परिसूचक शून्य दशमलव ८८ अङ्कले तथा वित्त कम्पनीको परिसूचक १ दशमलव ३१ अङ्कले घटयो ।

मङ्गलवार कारोबारमा आएका कम्पनी , कारोबार र शेयर सङ्ख्या बढेपनि रकम परिचालन घटेको छ । मङ्गलबार ८८ कम्पनीको १ हजार २ सय ६२ कारोबारबाट ८६ हजार ९ सय १७ कित्ता शेयर खरिद विक्री भई रु. २ करोड ११ लाख रकम परिचालन भएको छ । यसबाट ३ खर्ब ४६ अर्ब कुल बजार पूँजीकरण भएको छ । मङ्गलवार कारोबारमा आएका मध्ये ३६ कम्पनीको शेयर मूल्य घटयो, ३४ कम्पनीको शेयर मूल्य बढयो भने १८ कम्पनीको शेयर मूल्यस्थिर रहयो ।

मङ्गलवार कारोबार सङ्ख्याको आधारमा प्राइम लाइफ इन्स्योरेन्स र शेयर सङ्ख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । प्राइम लाइफ इन्स्योरेन्सको शेयर १ सय १४ पटक कारोबार भयो भने नेशनल हाइड्रोपावर कम्पनीको १० हजार १ सय शेयर किनबेच भए । कारोबार रकमको आधारमा बैङ्क अफ काठमाण्डूको सबैभन्दा धेरै रू.२५ लाख ३१ हजार रकमको कारोबार भयो । मङ्गलवार एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरैले बढयो भने लुम्बिनी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू.५८ ले घटयो ।