बैङ्किङ र 'अन्य' समूहले बढाए नेप्से
असार २१, काठमाडौं (अस) । मङ्गलवार 'अन्य' समूह र बैङ्किङ समूहका परिसूचकमा भएको वृद्धिले नेपाली शेयरको दोस्रो बजार परिसूचक नेप्से पनि बढयो । बैङ्किङ समूहको परिसूचक ७ अङ्कले बढयो भने 'अन्य’ समूह १० दशमलव ५७ अङ्कले बढयो । फलस्वरूप, नेप्से अघिल्लो दिनको तुलनामा लगभग ७ अङ्कले बढेर ३ सय ४० दशमलव ८२ मा बन्द भयो । नेप्सेसँगै 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने बढे ।
केही दिनदेखि ठूलो परिमाणमा कारोबार भएको लक्ष्मी बैङ्क तथा अरू केही बैङ्कको मूल्य बढेपछि बैङ्किङ समूहको परिसूचक बढेको बताइएको छ । त्यसैगरी, नेपाल टेलिकमको शेयर तुलनात्मक रूपमा सस्तो भएकाले खरिदकर्ताहरू यसप्रति आकर्षित हुँदा 'अन्य' समूहको परिसूचक वृद्धि भएको विश्लेषकहरू बताउँछन । मङ्गलवार नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । पश्चिमाञ्चल विकास बैङ्कका ८० हजार कित्ता संस्थापक शेयर म्याचिङ भएपछि कारोबार रकम बढेर रू. ५ करोड ७१ लाख पुग्न सहयोग मिलेको देखिन्छ । सो शेयर बैङ्ककै एक संस्थापकले खरीद गरेको बुझिएको छ । यद्यपि मङ्गलवार किनबेच भएका धेरै कम्पनीको कारोबारमा वृद्धि भएको छ ।
मङ्गलवार कारोबार भएका सातमध्ये चार समूहको परिसूचक बढयो भने अरूको घटयो । बैङ्किङ र 'अन्य' समूहकसँगै उत्पादन तथा प्रशोधन र विकास बैङ्क समूहका परिसूचक पनि क्रमश: ३ दशमलव ५६ र शून्य दशमलव ६४ ले बढे । बैङ्किङ समूहका नबिल, स्टयाण्डर्ड चार्टर्ड, लक्ष्मी, एभरेष्टलगायत बैङ्कको शेयरमूल्य बढयो । 'अन्य’ समूहको नेपाल टेलिकमको शेयर मूल्य रू. १६ ले बढेको छ । युनिलिभर नेपालको शेयरमूल्य घटे पनि बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) को शेयर क्रमश: रू. ५९ र ३४ बढेर कारोबार भएपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको हो । मङ्गलवार कारोबार सङ्ख्या घटे पनि शेयर सङ्ख्या, कम्पनी सङ्ख्या र रकम परिचालन बढयो । कुल १ हजार २१ कारोबारबाट ७६ कम्पनीका २ लाख ४३ हजारभन्दा धेरै कित्ता शेयर किनबेच भए । त्यसबाट, रू. ५ करोड भन्दा धेरै रकम परिचालन भयो भने ३ खर्ब ३ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये २८ कम्पनीको शेयरमूल्य घटयो, ३९ कम्पनीको बढयो भने बाँकीको स्थिर रह्यो ।
मङ्गलवार शेयर सङ्ख्या र कारोबार रकमका आधारमा पश्चिमाञ्चल विकास बैङ्कको संस्थापक शेयर अग्रस्थानमा रह्यो । कम्पनीका ८० हजार ४ सय कित्ता शेयर किनबेच भएर रू. १ करोड ४ लाख ५३ हजारको कारोबार भयो । त्यसैगरी, तिनाउ विकास बैङ्कको शेयर सबैभन्दा धेरै १ सय ३३ पटक कारोबार भयो । त्यसैगरी, बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य सबैभन्दा धेरै रू. ५९ ले बढयो भने युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय १ ले घटयो ।
Admin 2011-07-06