शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से सामान्य घटयो
भदौ २१, काठमाडौं । बुधवार पनि नेप्से परिसूचक बढ्न सकेन । कारोबार शुरू हुँदा बढेको नेप्से परिसूचक आधा घण्टा नबित्दै घट्न शुरू गर्यो । त्यसपछि केही बढ्ने प्रयास गरेको नेप्से अन्तत: शून्य दशमलव ४९ अङ्कले घटेर ३ सय ३१ दशमलव ३२ बिन्दुमा बन्द भयो । नेप्सेसँगै, सेन्सेटिभ र फ्लोट पनि घटे ।

बुधवार बैङ्क अफ काठमाण्डू, फेवा फाइनान्स, आईसीएफसी फाइनान्स, आईएमई फाइनान्सका संस्थापक शेयर पनि खरीद-विक्रीमा आए । बैङ्क अफ काठमाण्डूको ब्रोकर नम्बर २० र १ बीच, फेवा फाइनान्सको ब्रोकर नम्बर १ र १४ बीच, आईसीएफसी फाइनान्स र आईएमई फाइनान्सको विविध ब्रोकरबीच कारोबार भएको छ । यी कम्पनीको संस्थापक शेयर कारोबारमा आएपछि रकम परिचालन पनि बढेको छ । बुधवार रकम परिचालन रू. ४ करोड ३० लाख पुगेको छ ।  

बुधवार कारोबारमा आएका सातमध्ये बैङ्किङ, बीमा र वित्त कम्पनी समूहको परिसूचक घटयो भने 'अन्य’ को स्थिर रह्यो । बैङ्किङ समूहबाट बैङ्क अफ काठमाण्डूको संस्थापक शेयर, नेपाल इण्डष्ट्रियल, लक्ष्मी, नेपाल बङ्गलादेशलागायत बैङ्कको शेयरमूल्य घटे । बीमा समूहबाट प्राइम लाइफ, सगरमाथा इन्स्योरेन्स, सूर्या लाइफलगायत कम्पनीको शेयरमूल्य घटेका छन् । त्यसैगरी, वित्त कम्पनी समूहबाट पाटन फाइनान्स, नेपाल फाइनान्स, बुटवल फाइनान्सलगायतको शेयरमूल्य घटयो । विकास बैङ्क, जलविद्युत् र प्रशोधन तथा उत्पादनमूलक समूहको परिसूचक क्रमश: शून्य दशमलव ४९, शून्य दशमलव ६ र शून्य दशमलव ८४ ले बढयो ।

बुधवार खरीद-विक्री सङ्ख्या घटे पनि  शेयर सङ्ख्या र कम्पनी सङ्ख्या बढेका छन् । १ हजार २ सय ८७ खरीद-विक्रीबाट ८९ कम्पनीका १ लाख ८९ हजार ३ सय ९६ शेयर किनबेच भए, जसबाट रू. २ खर्ब ९५ अर्बको कुल बजार पूँजीकरण भयो ।

शेयर खरीद-विक्रीका आधारमा भ्याली फाइनान्स र शेयर सङ्ख्याका आधारमा एनडीईपी विकास बैङ्क अग्रस्थानमा रहे । भ्यालीको शेयर ८९ पटक किनबेच भयो भने एनडीईपीको ३४ हजार २ सय १ शेयर खरीद-विक्री भए । रकम परिचालनका आधारमा रू. ९५ लाख ६९ हजार ५ सय ४० रकमको कारोबार भएको बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । सो दिन प्रतिशतका आधारमा सबैभन्दा धेरै स्वावलम्बन विकास बैङ्कको शेयरमूल्य ९ दशमलव ९४ प्रतिशतले बढयो भने बैङ्क अफ काठमाण्डूको संस्थापक शेयरमूल्य सबै भन्दा धेरै २४ ले घटयो ।

Admin 2011-09-08