नेप्से अढाइ महीना अघिको बिन्दुमा
मङ्सिर २१, काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक घटेर अढाइ महीनाअघिको बिन्दुमा आइपुगेको छ । मङ्गलवार नेप्से परिसूचक १ दशमलव ७९ अङ्कले घटेर ४ सय १ दशमलव ७७ कायम भयो । गत असोज ४ गते नेप्से परिसूचक शून्य दशमलव ७ अङ्कले घटेर ४ सय १ दशमलव ७४ कायम भएको थियो । असोज ४ गते कायम भएको नेप्से ४ वर्षयताकै न्यून हो । त्यसयता नेप्सेमा सुधार आएको भए पनि परिसूचक ४ सय २६ दशमलव ३३ भन्दा माथि उक्लिन सकेन ।
मङ्गलवार नेप्से ४ सय बिन्दु नजिक आइपुगे पनि यसले पुनः गति लिने विश्वास लगानीकर्ताहरूले गरेका छन् । 'हाम्रो शेयर बजार त्यति परिपक्व त छैन,’ धितोपत्र दलाल सङ्घका अध्यक्ष नन्दकिशोर मुन्दडाले भने, 'तर पनि केही सकारात्मक कुरा आउनेबित्तिकै नेप्से बढ्न थाल्छ ।’ मुन्दडाका अनुसार अहिले शेयर खरीद गर्ने बेला आएको छ । 'नेप्से चाँडै बुल ट्रेण्डमा आउँछ,’ राजधानी इन्भेष्टमेण्ट फण्डका अध्यक्ष निर्मल प्रधानले भने, 'अहिले शेयर बजारमा ठुलै विपत्ति गयो भन्ने ठान्नु हुँदैन । अब नेप्से यो बिन्दुभन्दा तल झर्ने स्थान बाँकी छैन ।’
मङ्गलवार कारोबार भएका सात समूहमध्ये उत्पादनमूलक समूहको परिसूचक मात्र बढ्यो भने 'अन्य’ समूहको स्थिर रह्यो । उत्पादनमूलक समूहमा सूचीकृत युनिलिभर कम्पनीको शेयर मूल्य रू.९९ ले बढेपछि यो समूहको परिसूचक बढेको हो । बैङ्क तथा वित्त समूहको परिसूचक सामान्यले घटे पनि बीमा समूहको परिसूचक ८ अङ्कभन्दा बढीले घट्यो । प्राइम लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेपछि यी कम्पनी सूचीकृत बीमा समूहको परिसूचक घटेको हो । बैङ्किङ समूहमा सूचीकृत एभरेष्ट बैङ्क र नबिल बैङ्कको शेयर मूल्य घटेपछि बैङ्किङ समूहको परिसूचक घटेको छ ।
मङ्गलवार १ हजार २ सय ८२ कारोबारबाट ७५ हजार ३ सय ७९ कित्ता शेयरपत्रको खरीद-विक्री भएर रू. २ करोड २० लाखभन्दा बढी रकम परिचालन भयो । त्यसैगरी ३ खर्ब ४४ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएका ७० मध्ये ४० कम्पनीको शेयर मूल्य घट्यो, १८ कम्पनीको शेयर मूल्य बढ्यो र १२ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
मङ्गलवार कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैङ्क अघि रह्यो । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको रू.२० लाखभन्दा बढी रकमको कारोबार भयो भने शेयर मूल्य १ हजार ९ सय ८० कायम भयो । कारोबार सङ्ख्याका आधारमा जेनिथ फाइनान्स र शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहे । जेनिथ फाइनान्सको शेयर २ सय ६ पटक कारोबार भयो भने नेशनल हाइड्रोपावर कम्पनीको ७ हजार १ सय कित्ता शेयर खरीदविक्री भए । सोही दिन एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ५६ ले घट्यो भने युनिलिभर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रू. ९९ ले बढ्यो ।