शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वास्तविक क्षेत्रले बढायो नेप्से
पुस २१, काठमाडौँ (अस)। साताको चौथो दिन बुधवार वास्तविक क्षेत्रको समूहमा आएको सुधारले नेप्से बढायो । बुधवार ट्रेडिङ, होटल र जलविद्युत् समूहको परिसूचकमा आएको सुधारले नेप्से १ दशमलव १७ अङ्कले बढेर ४ सय दशमलव ७६ मा पुग्यो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्यमा भएको रू.७ को वृद्धिले नेप्से बढ्न थप टेवा मिल्यो । बुधवार साढे १ बजेसम्म घटेर ३९८ भन्दा तल पुगेको नेप्से २ बजेसम्म त्यही तहमा स्थिर रहे पनि त्यसपछि नेपाल दूरसञ्चार कम्पनीको मूल्यमा भएको सुधारले उचालेर ४ सयमा पुर्यायो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्यमा हुने करीब ३ को वृद्धिले नेप्से एक अङ्क बढ्ने विश्वास गरिन्छ । बुधवार नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

बुधवार कारोबारमा आएका आठ समूहमध्ये जलविद्युत्, ट्रेडिङ र होटलसमूहको परिसूचक क्रमशः ५ दशमलव ५६, ४ दशमलव ८ र ४ दशमलव ५२ ले बढ्यो । अरुण भ्यालीको शेयर मूल्य घटे पनि चिलिमेको रू. ३३ ले बढेपछि जलविद्युत् समूहको र विशाल बजार कम्पनीको शेयर मूल्य रू.५६ ले बढेपछि टे्रडिङ समूहको परिसूचक बढेको छ । सोल्टी होटलको शेयर मूल्य रू. ४ ले बढेपछि होटलसमूहको परिसूचक पनि बढयो । तर, उत्पादनमूलक, बैङ्किङ, विकास बैङ्क, वित्त र बीमासमूहको परिसूचक घटे ।

यी समूहका परिसूचक क्रमशः ४ दशमलव १५, शून्य दशमलव ३६, शून्य दशमलव २१, शून्य दशमलव ५९ र १ दशमलव ५९ ले घटे । बुधवार नेप्से बढे पनि शेयर सङ्ख्या र रकम परिचालन घटेको छ । पछिल्लो समयमा औसत रू. २ करोड रकम परिचालन हुँदै आएकोमा बुधवार ६६ हजार ७ सय ४० कित्ता शेयरको खरीद-विक्री भई रू. १ करोड ५६ लाख रकम परिचालन भएको छ । यसबाट ३ खर्ब ४७ अर्ब कुल बजार पूँजीकरण भएको छ । कुल बजार पूँजीकरण र कारोबार सङ्ख्या भने सामान्य बढेको छ । बुधवार १ हजार २ सय ७० ओटा कारोबार भयो ।
 
बुधवार कारोबारमा आएका ८० मध्ये ४३ कम्पनीको शेयर मूल्य घटयो, २५ कम्पनीको शेयर मूल्य बढयो भने १२ कम्पनीको शेयर मूल्य स्थिर रह्यो । बुधवार शेयर सङ्ख्या र रकमको आधारमा नेपाल क्रेडिट एण्ड कमर्श बैङ्क अग्रस्थानमा रह्यो । यस बैङ्कको ८ हजार १ सय १० शेयर खरीद-विक्रीबाट रू. १३ लाख ६२ हजार रकमको कारोबार भयो । कारोबार सङ्ख्याको आधारमा युनिक फाइनान्सियल इन्षिटच्युशनको सबैभन्दा धेरै १ सय ७८ पटक कारोबार भयो । बुधवार विशाल बजारको शेयर मूल्य सबैभन्दा धेरै बढयो भने युनिलिभर नेपालको शेयर मूल्य सबैभन्दा धेरै रू. ८० ले घटयो ।