शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से समान्य बढयो, २०६८मा पहिलो सुधार
वैशाख २२, काठमाडौं (अस)। नयाँ वर्षशुरू भएपछि सबै दिन घटेको नेप्से परिसूचक बिहीवार पहिलोपटक सामान्य सुधार भयो । बैङकिङ समूहमा सूचीकृत १२ र विकास बैङ्क समूहका ९ कम्पनीको शेयरमूल्य बढेर कारोबार भएपछि नेप्से बढेको हो । बिहीवार नेप्से परिसूचक शून्य दशमलव ६७ अङ्कले बढेर ३ सय ३९ दशमलव ५४ मा पुग्यो । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

बिहीवार कारोबारमा आएका ६ समूहमध्ये बैङ्किङ र विकास बैङ्क समूहका परिसूचक बढे भने अरू सबै समूहका परिसूचक घटे । 'अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै ४ दशमलव ७ अङ्कले घटयो । 'अन्य’ समूहमा सूचीकृत नेपाल दूरसञ्चार कम्पनीका कर्मचारीहरूको स्वामित्वमा रहेको शेयर भदौ १ देखि विक्री गर्न पाउने खबरले कम्पनीको शेयरमूल्य घटेको हो । नेपाल दूरसञ्चारका कर्मचारीले शेयर ग्रहण गरेको ३ वर्षपछि २५ प्रतिशत शेयर विक्री गर्न पाउने प्रावधान छ । यो प्रावधानअनुसार १८ लाख ७५ हजार कित्ता शेयर कर्मचारीहरूले विक्री गर्न पाउँछन् । नेपाल टेलिकमका कर्मचारीको स्वामित्वमा हाल ७५ लाख कित्ता शेयर रहेको छ । फलस्वरूप, टेलिकमको शेयर मूल्य रू.४ ले घटयो । बिहीवार नेशनल हाइड्रोपावर कम्पनीका कारोबार भएका ८ हजार कित्ता शेयर म्याचिङ भएका छन । त्यसमध्ये २ हजार कित्ता २८ र ६ नम्बर ब्रोकरबीच र ६ हजार कित्ता २८ र १६ नम्बर ब्राकरबाट किनबेच भएका हुन् । जलविद्युत्, बीमा र वित्त कम्पनी समूहका परिसूचक १ अङ्कभन्दा कमले मात्रै घटे ।

बिहीवार १ हजार ३ सय ५३ कारोबारबाट ८० कम्पनीका ७० हजार ९९ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड ४४ लाखभन्दा बढी रकम परिचालन भयो भने ३ खर्ब २ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार कारोबारमा आएका ३६ कम्पनीको शेयरमूल्य घटयो, २८ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको मूल्य स्थिर रहयो । कारोबार सङ्ख्याका आधारमा भ्याली फाइनान्सका सबैभन्दा धेरै १ सय १० कारोबार भए । त्यसैगरी, शेयर सङ्ख्याका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहयो । कारोबार रकमका आधारमा भने सबैभन्दा धेरै रू. १८ लाख ३७ हजारको कारोबार भएर लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल सबैभन्दा अग्रस्थानमा रहयो । त्यसैगरी, बैङ्क अफ काठमाण्डूको शेयरमूल्य सबैभन्दा धेरै रू. १८ ले बढयो भने एनएमबी बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २० ले घटयो ।

Admin 2011-05-06