नेप्से अझै स्थिर
चैत २२, काठमाडौं (अस)। साताको दोस्रो कारोबार दिन मङ्गलवार पनि नेप्से बढ्न सकेन । मङ्गलवार 'अन्य' र जलविद्युत् समूहको परिसूचक बढे पनि बैङ्क, विकास बैङ्क र बीमा समूहको परिसूचक घटेपछि नेप्से घटेको हो । नेप्से शून्य दशमलव ५७ अङ्कले घटेर ३ सय ६४ दशमलव ४१ बिन्दुमा आइपुगेको छ ।
'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटेका छन् ।
मङ्गलवार नेपाल दूरसञ्चार कम्पनीले नेप्से बढाउन सक्ने अपेक्षा गरिएको भए पनि त्यसो हुन सकेन । कम्पनीले ४० प्रतिशत नगद लाभांश दिने सूचना आएपछि कम्पनीको शेयरमूल्य उल्लेख्य बढ्ने र यससँगै नेप्से पनि बढ्ने अपेक्षा गरिएको थियो । तर, बजारमा यो जानकारी पहिले नै आएकाले नेपाल दूरसञ्चारको मूल्य केही समय अगाडि नै धेरै बढिसकेकाले मङ्गलवार धेरै नबढेको एक शेयर लगानीकर्ता बताउँछन् । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू.५ ले बढेपछि 'अन्य' समूहको परिसूचक १ दशमलव ७ अङ्कले बढयो । चिलिमे र बुटवल हाइड्रोपावरको शेयरमूल्य सामान्य बढे पनि अरुणभ्यालीको घटयो र नेशनल हाइड्रोपावर स्थिर रहयो । फलस्वरूप, जलविद्युत् समूहको परिसूचक बढ्यो । त्यसैगरी, वित्त कम्पनीको समूह स्थिर रहयो ।
मङ्गलवार कारोबार रकम, कारोबार र कम्पनी सङ्ख्या पनि घटेको छ । सो दिन १ हजार ७ सय ८९ कारोबारबाट ९३ हजार ७ सय ८२ शेयरको खरीद-विक्री भई रू. १ करोड ९४ लाखभन्दा बढी रकम परिचालन भयो । यसबाट ३ खर्ब २२ अर्ब कुल बजार पूँजीकरण भएको छ । मङ्गलवार कारोबारमा आएका ८२ मध्ये ४८ कम्पनीको शेयरमूल्य घटयो, २१ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रहयो ।
मङ्गलवार शेयर र कारोबार सङ्ख्याको आधारमा अग्रस्थानमा रहेको नेपाल बङ्गलादेश बैङ्कको दुई कारोबारमा बल्क म्याचिङसहित २० हजार शेयर किनबेच भएका छन् । १० र १८ नम्बर ब्रोकरबाट यी शेयर अलगअलग रूपमा कारोबार भएका छन् । बैङ्कको कुल २० हजार ५ सय ५० शेयर किनबेचबाट रू. २८ लाख ४६ हजारभन्दा बढी रकमको कारोबार भएको छ । त्यैगरी, भ्याली फाइनान्सको सबैभन्दा धेरै २ सय ३५ कारोबार भएको छ । मङ्गलवार युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै रू.९८ ले घटयो भने डिप्रोक्स विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. १८ ले बढयो ।
Admin 2011-04-06