नेप्से ६ अङ्क तल, कारोबार रकम दोब्बर
जेठ २२, काठमाडौं (अस)। साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) परिसूचक झण्डै ६ अङ्कले घटयो । कारोबारमा आएका ६ मध्ये बीमा समूहबाहेक सबै समूहका परिसूचक ओरालो लागेपछि नेप्से घटेर ३ सय २७ दशमलव ८१ अङ्कमा आयो । नेप्सेमा बढी प्रभाव भएका बैङ्किङ, जलविद्युत् र 'अन्य' समूहका परिसूचक तुलनात्मक रूपमा उच्च अङ्कले घटेकाले नेप्से आरोलो लागेको हो । नेप्सेसँगै 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि माथि टिक्न सकेनन् ।
बैङ्किङ समूहमा सूचीकृत एभरेष्ट, लक्ष्मी र बैङ्क अफ काठमाण्डूलगायत बैङ्कहरूको शेयरमूल्य उच्च अङ्कले घटेकाले सो समूहको परिसूचक झण्डै ७ अङ्कले घटयो । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ९ ले घट्दा 'अन्य' समूहको परिसूचक साढे १० अङ्क तल आयो । त्यसैगरी, अरुणभ्याली तथा चिलिमेको शेयरमूल्य क्रमश: रू. २१ र ७ ले घटेपछि जलविद्युत् समूहको परिसूचक लगभग ६ अङ्कले ओरालो लाग्न बाध्य भयो । विकास बैङ्क तथा वित्त कम्पनी समूहका परिसूचक लगभग २ अङ्कले घटे भने बीमा समूहको परिसूचक शून्य दशमलव ८४ अङ्कले बढयो । बीमा समूहमा सूचीकृत अरू कम्पनीहरूको शेयरमूल्य खासै बढ्न नसके पनि एशियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य रू. १८ ले महँगिएपछि यो समूहको परिसूचकमा सुधार आएको हो ।
आइतवार नेप्से तथा समूहगत परिसूचकहरू ओरालो लागे पनि कारोबार सङ्ख्या, शेयर सङ्ख्याका साथै कारोबार रकममा भने उल्लेख्य सुधार भयो । कुल १ हजार ५ सय २२ कारोबारबाट ८२ कम्पनीका १ लाख ३६ हजार ७७ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३ करोड १२ लाखभन्दा धेरैको कारोबार भयो भने २ खर्ब ९१ अर्बको कुल बजार पूँजीकरण भयो । अधिकांश कम्पनीहरूको मूल्य घटेर कारोबार भएपछि कम्पनी तथा शेयर सङ्ख्या बढे पनि कुल बजार पूँजीकरण घटेको हो । सिध्दार्थ बैङ्क र एनएमबी बैङ्कका संस्थापक शेयरको म्याचिङ कारोबार भएकाले कुल कारोबार रकम औसतभन्दा दोब्बर भएको हो । ब्रोकर नम्बर ६ र २९ बाट एनएमबीका १६ हजार कित्ता शेयर संस्थापक शेयर किनबेचबाट रू. २१ लाख ७६ हजारको कारोबार भयो । त्यसैगरी, सिध्दार्थ बैङ्कका ३४ हजार ३ सय ४१ कित्ता संस्थापक शेयर किनबेच भएर रू. ३७ लाख ४३ हजारभन्दा धेरै रकम परिचालन भयो ।
आइतवार कारोबार रकमका आधारमा रू. ५२ लाखभन्दा धेरैको कारोबारसहित स्ट्याण्डर्ड चार्टर्ड बैङ्क सबैभन्दा अगाडि रह्यो । त्यसैगरी, सिध्दार्थ बैङ्कको संस्थापक शेयर सबैभन्दा धेरै ३४ हजार ३ सय ४१ कित्ता शेयर किनबेच भए भने कर्णाली विकास बैङ्कको शेयर सबैभन्दा धेरै १ सय ५३ पटक कारोबार भयो । कारोबारमा आएकामध्ये १७ कम्पनीको शेयर बढयो, ५५ को घटयो भने बाँकीको स्थिर रह्यो । आइतवार एभरेष्ट बैङ्कको शेयर ९ दशमलव ४९ प्रतिशत सस्तो भयो भने डिप्रोक्स डेभलपमेण्ट बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ७१ प्रतिशत महँगो भयो ।
Admin 2011-06-06