क्यापिटल मर्चेण्टको म्याचिङले बढायो नेप्सेको कारोबार रकम
पुस २२, काठमाडौं । बिहीवार नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर सयमा आए पनि कारोबार रकम भने बढयो । क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सको शेयर ठूलो सङ्ख्यामा म्याचिङ भएपछि कारोबार रकम र शेयर सङ्ख्या दुवै बढेको हो । क्यापिटल मर्चेण्ट बैङ्किङ एण्ड फाइनान्सका १ लाख १६ हजारभन्दा बढी कित्ता शेयर ब्रोकर नम्बर १९ र १६ मार्फत म्याचिङ भएका थिए । त्यसबाट मात्रै रू.१ करोड ६३ लाखभन्दा बढी रकम परिचालन भयो । बिहीवार नेप्सेसँगै ' क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारण लगानीकर्ताहरूले सजिलै खरीद गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
बिहीवार कारोबारमा आएका ७ समूहमध्ये विकास बैङ्क, बीमा र 'अन्य' समूहका परिसूचक सामान्यले बढे पनि नप्से ह्रास रोकिएन । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू.२ ले बढेपछि 'अन्य' समूहको परिसूचक २ दशमलव ३५ अङ्कले बढयो । एशियन लाइफ, सूर्यालाइफ इन्स्योरेन्सलगायतका बीमा कम्पनीको शेयर मूल्य बढेपछि बीमा समूहको परिसूचक बढेको हो । गोरखा डेभलपमेण्ट बैङ्क , रेसुङ्गा विकास बैङ्क, कृषि विकास बैङ्कलगायतको शेयर मूल्य बढेपछि विकास बैङ्क समूहको परिसूचक बढयो । बिहीवार बैङ्किङ, होटल र वित्त कम्पनी समूहका परिसूचक घटे भने जलविद्युत् समूहको परिसूचक स्थिर रह्यो ।
बिहीवार करोबारमा आएका कम्पनीहरूको सङ्ख्या पनि घट्यो । जम्मा ९ सय ६८ कारोबारबाट ७५ कम्पनीका १ लाख ६७ हजार ५ सय १६ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड ८६ लाख ४३ हजार ७ सय ७५ को कारोबार भयो । त्यसबाट रू. ३ खर्ब ४७ अर्बभन्दा बढीको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३७ कम्पनीको शेयर मूल्य बढयो, २४ कम्पनीको शेयर मूल्य घटयो भने १४ कम्पनीको शेयर मूल्य स्थिर रहयो । शेयर सङ्ख्या र कारोबार रकमका आधारमा क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्स अग्रस्थानमा रहयो । कारोबार सङ्ख्याका आधारमा १ सय ४३ कारोबारसहित मनकामना डेभलपमेण्ट बैङ्क सबैभन्दा अघि रहयो । बिहीवार गोर्खा डेभलपमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. १५ बढयो भने स्ट्यार्ण्र्डड चार्र्टर्ड बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ३७ घटयो ।