टेलिकमले घटायो नेप्से
साउन २२, काठमाडौं । आइतवार नेप्से परिसूचक ३ दशमलव ८९ अङ्कले घटयो । गत साताको अन्तिम दिन ३ सय ५७ दशमलव ६५ मा बन्द भएको नेप्से परिसूचक आइतवार ३ सय ५३ दशमलव ७६ मा झर्यो । गत आइतवार ४ दशमलव ३५ अङ्कले घटेको नेप्से परिसूचक बिहीवारबाहेक सबै दिन सामान्य अङ्कले घटेको थियो । विगत केही सातादेखि शेयर बजार सुधार हुने पूर्वानुमान गरिए पनि अझै सुधार देखिएको छैन । नेप्से घटेपछि 'क' वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै कारोबार गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट पनि घटे ।
आइतवार बैङ्किङ, विकास बैङ्क, होटेल, जलविद्युत्, वित्त कम्पनी, बीमा, र अन्य गरी सात समूहको कारोबार भए पनि सबैको परिसूचक घटयो । नेपाल दूरसञ्चार कम्पनीको एकाधिकार रहेको अन्य समूहको परिसूचक आइतवार सबैभन्दा बढी १८ दशमलव ८ अङ्कले घटयो । उक्त कम्पनीको शेयरमूल्य रू. १६ ले घटेपछि अन्य समूहको परिसूचक भारी अङ्कले घटेको हो । आइतवार कारोबार भएका सबै समूहमध्ये 'अन्य' बाहेकका परिसूचक सामान्य घटेकाले नेपाल टेलिकमले नै नेप्से परिसूचक घटाएको सरोकारवालाहरूको अनुमान छ । आइतवार जलविद्युत् समूहको परिसूचक ३ दशमलव ३४ अङ्कले घटेको छ । यो समूहअन्तर्गतका अरुण भ्याली हाइड्रोपावर र बुटवल पावर कम्पनीको शेयरमूल्य क्रमश: १० र ५ रुपैयाँले घटेपछि यो समूहको परिसूचक घटेको हो । तर, आइतवार नेशलन हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन । यसैगरी, आइतवार बैङ्किङ, विकास बैङ्क र होटेल समूहको परिसूचक क्रमश: १ दशमलव ४८, १ दशमलव ६२ र १ दशमलव ५१ अङ्कले घटे भने वित्त कम्पनी र बीमा समूहको क्रमश: शून्य दशमलव ६८ र शून्य दशमलव ८३ अङ्कले नकारात्मक रह्यो ।
आइतवार ८० कम्पनीका १ हजार ४ सय ३२ कारोबारबाट २ लाख ३९ हजार १ सय ७९ कित्ता शेयर किनबेच भए । सो कारोबारबाट रू. ५ करोड ५८ लाख परिचालन भयो भने रू. ३ खर्ब १५ अर्ब कुलबजार पूँजीकरण भयो । आइतवार रू. ३ करोड ७ लाख ६४ हजार कारोबार भएर बुटवल पावर कम्पनी सबैभन्दा धेरै कारोबार गर्नेको सूचीमा उक्लियो । सोही दिन एनआईडीसी क्यापिटल मार्केट्सको शेयर मूल्य सबैभन्दा धेरै ७ दशमलव शून्य १ प्रतिशत सस्तियो भने, सूर्यदर्शन फाइनान्स कम्पनीको शेयरमूल्य सबैभन्द बढी ६ प्रतिशत महँगो भयो । आइतवार कामना विकास बैङ्क लिमिटेडको पहिलोपटक कारोबार शुरू भएको छ । सोही दिन उक्त कम्पनीको ३० कित्ता शेयर रू. ३ सय ४१ देखि ३ सय ३५ मा किनबेच भए ।
Admin 2011-08-08