नेप्स करीब ४ अङ्कले घटयो
असार २३, काठमाडौं (अस)। अघिल्ला तीन दिन बढेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीवार भने घटेको छ । कारोबारमा आएकामध्ये एउटाबाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से घटेको हो । बिहीवार 'अन्य’ समूहको परिसूचक सबैभन्दा धेरैले घटेको छ । 'अन्य’ समूहमा सूचीकृत नेपाल टेलिकमको शेयरमूल्य रू. १५ ले घटेपछि यो समूहको परिसूचक २३ दशमलव ५ अङ्कले घटयो । कारोबारमा आएकामध्ये ३७ कम्पनीको शेयरमूल्य घटेको छ भने २७ कम्पनीको शेयरमूल्य बढेको छ । बढ्ने कम्पनीको सङ्ख्या घट्नेभन्दा कम रहेको र शेयरमूल्य वृद्धि अनुपात पनि घट्नेभन्दा कम रहेकाले नेप्से घटेको हो । बिहीवार पाँच कम्पनीको मात्र शेयरमूल्य रू. ५ भन्दा बढीले वृद्धि भएको छ । बिहीवार नेप्से ३ दशमलव ५१ अङ्कले घटेर ३ सय ४० दशमलव ९६ बिन्दुमा आइपुग्यो । त्यसैगरी, २२ कम्पनीको शेयरमूल्य रू. ५ भन्दा धेरैले घटेका छन् । बिहीवार नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक बढेका छन् ।
बिहीवार जलविद्युत् समूहको परिसूचक मात्र बढेको छ । बुटवल पावर कम्पनीको शेयरमूल्य रू. १६ र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. १ ले बढेपछि जलविद्युत् समूहको परिसूचक ५ दशमलव ७३ अङ्कले बढयो । त्यसैगरी, उत्पादन तथा प्रशोधन, होटल, विकास बैङ्क, बैङ्किङ, बीमा र वित्त कम्पनी समूहको परिसूचक क्रमश: ४ दशमलव ९३, ३ दशमलव ३९, १ दशमलव ५३, १ दशमलव २९ , शून्य दशमलव ९७ र शून्य दशमलव ७५ ले घटे । बिहीवार सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्ट, नबिल बैङ्कको संस्थापक शेयर र युनिलिभर नेपालको शेयरमूल्य रू. ९५ देखि १ सय २३ सम्म घटेको छ ।
बिहीवार कम्पनी सङ्ख्या बढे पनि कारोबार, शेयर सङ्ख्या र रकम परिचालन सामान्य घटेका छन् । यस दिन ७४ कम्पनीका ९ सय ६८ कारोबारबाट ६८ हजार ४ सय ७३ शेयर किनबेच भए, जसबाट रू. १ करोड ९५ लाख भन्दा धेरै रकम परिचालन भयो भने रू. ३ खर्ब ३ अर्बको कुल बजार पूँजीकरण भयो ।
बिहीवार बैङ्क अफ काठमाण्डूृ शेयर सङ्ख्या र कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो । बैङ्कको ११ हजार ७९ कित्ता शेयर कारोबार भएर रू. ५५ लाख ४४ हजार रकम परिचालन भयो । कारोबार सङ्ख्याको आधारमा ९९ कारोबार भएको विराटलक्ष्मी बैङ्क अग्रस्थानमा रह्यो । त्यसैगरी बिहीवार नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २० ले बढयो भने सिटिजन्स इन्भेष्टमेण्ट ट्रष्टको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय २३ ले घटयो ।
Admin 2011-07-08