नेप्से बढ्ने प्रयासमा बन्द भयो
चैत २३, काठमाडौं (अस)। साताको तेस्रो कारोबारको दिन बुधवार नेप्से बढ्ने प्रयासमै बन्द भयो । दिउँसो १ अङ्कसम्म घटेको नेप्सेमा बैङ्किङ र बीमा समूहमा सामान्य सुधार आएपछि बढ्ने क्रम देखियो । नेप्से शून्य दशमलव शून्य २ अङ्कले घटेर ३ सय ६४ दशमलव ३९ मा आइपुग्यो । नेप्से घटे पनि 'क’ वर्गमा सूचीकृत नबिल, स्टयाण्डर्ड चार्टर्ड, हिमालयन बैङ्क, कृषि विकास बैङ्कलगायत कम्पनीहरूको शेयरमूल्य बढेपछि यी कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक बढयो । तर, फ्लोट परिसूचक भने शून्य दशमलव शून्य २ अङ्कले घटयो ।
बुधबार कारोबारमा आएका पाँच समूहमा विकास बैङ्क, जलविद्युत् र बीमा समूहको परिसूचक घटयो । बैङ्किङ र बीमा समूहको परिसूचक क्रमश: शून्य दशमलव १ र १ दशमलव ११ अङ्कले बढयो । विकास बैङ्क, जलविद्युत् र बीमा समूहको परिसूचक क्रमश: १ दशमलव ५२, शून्य दशमलव ४ र १ दशमलव ३७ ले घटयो । नेशनल हाइड्रोपावरको शेयर मूल्य स्थिर रहे पनि अरुण भ्याली र चिलिमेको शेयर मूल्य रू. १ ले घटेपछि जलविद्युत् समूहको परिसूचक १ अङ्कले घटयो । तिनाउ, एस, अल्पाइन र बिजनेश डेभलपमेण्ट बैङ्कलगायतको शेयरमूल्य रू. ८ देखि रू. २० सम्म घटेपछि विकास बैङ्क समूहको परिसूचक घटेको हो । नेशनल लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयर मूल्य घटेपछि बीमा समूहको परिसूचक घटेको हो ।
बुधवार कारोबार रकम, शेयर कारोबार र कम्पनी सङ्ख्या पनि घटेको छ । मङ्गलवार १ हजार ७ सय २७ कारोबारबाट ७४ हजार ७ सय ९७ शेयरहरूको खरीदविक्री भई रू. १ करोड ५० लाखभन्दा बढी रकम परिचालन भयो । यसबाट ३ खर्ब २२ अर्ब कुल बजार पूँजीकरण भएको छ । बुधवार कारोबारमा आएका ७७ मध्ये ३५ कम्पनीको शेयरमूल्य घटयो, २८ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रह्यो ।
बुधवार शेयर सङ्ख्याको आधारमा नेशनल हाइड्रोपावर र कारोबार सङ्ख्याको आधारमा भ्याली फाइनान्स अग्रस्थानमा रहे । बुधवार नेशनल हाइड्रोको विभिन्न ब्रोकरबाट शेयर बल्क म्याचिङ भएको छ । नेशनलको ५ हजार ७ सय कित्ता शेयर कारोबार भयो । अरुण भ्यालीको १ सय ९८ कारोबार भएको छ । रकम परिचालनका आधारमा अग्रस्थानमा रहेको बैङ्क अफ काठमाडौंको रू. १६ लाख ५० हजारभन्दा बढी रकमको कारोबार भएको छ । त्यसैगरी, नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २२ ले बढयो भने तिनाउ विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २० ले घटयो ।
Admin 2011-04-07