सरकार विस्तारले पनि बढाउन सकेन नेप्से
फागुन २३, काठमाडौं (अस)। साताको दोस्रो दिन खुलेको शेयर बजार परिसूचक १ दशमलव ३८ अङ्कले घटेर बन्द भयो । सरकार विस्तारको खबरले नेप्से बढ्ने आशा गरिए पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा घटेर ३ सय ९४ दशमलव शून्य ६ मा आइपुग्यो । सोमवार शेयरमूल्य बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको सङ्ख्या कम भए पनि मूल्य बढ्ने कम्पनीहरूको भार कम भएकाले नेप्से घटेको देखिन्छ । नेपाल दूरसञ्चार कम्पनी, नबिल बैङ्क तथा स्टयाण्डर्ड चार्टर्डबैङ्कलगायत ३१ कम्पनीको प्रतिशेयरमूल्य रू. १ देखि ३५ सम्म घटेर कारोबार भयो । कारोबार शुरू भएदेखि नै ओरालो लागेको नेप्से दिनभरि उकालो लाग्न सकेन । सोमवार प्रतिशतका आधारमा सबैभन्दा धेरै बढ्ने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा म्याचिङ कारोबार भएको देखिन्छ । नेप्सेसँगै 'क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारणले सजिलै खरीदविक्री गर्नसक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो ।
सोमवार नप्से घटे पनि कारोबारमा आएका कम्पनी, शेयर सङ्ख्या, कारोबार सङ्ख्या, रकम परिचालन र कुल बजार पूँजीकरणमा भने वृद्धि भयो । सोमवार कारोबारमा आएका ७ समूहमध्ये जलविद्युत् र बीमा समूहको परिसूचक सामान्य बढे पनि अरू सबै समूहका परिसूचक घटेकाले नेप्से बढ्न सकेन । जलविद्युत् र बीमा समूहको परिसूचक क्रमशः २ दशमलव १४ र १ दशमलव ४९ अङ्कले बढयो । सोमवार अरुण भ्याली र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटे पनि चिलिमे हाइड्रोपावरको शेयरमूल्य रू. ९ ले बढेकाले जलविद्युत् समूहको परिसूचक बढयो ।
सोमवार १ हजार ९ सय ११ कारोबारबाट ७८ कम्पनीका ९१ हजार ६ सय १७ कित्ता शेयर खरीद-विक्री भई रू. २ करोड १० लाखभन्दा बढीको रकम परिचालन भयो । त्यसबाट रू. ३ खर्ब ४६ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो । सोमवार ३१ कम्पनीको शेयरमूल्य घटयो, ३३ कम्पनीको शेयरमूल्य बढयो भने बाँकीको स्थिर रहयो । सोमवार २ सय २३ पटक कारोबार भएको गौरीशङ्कर डेभलपमेण्ट बैङ्क कारोबार सङ्ख्याको आधारमा अग्रस्थानमा रहयो । कारोबार रकम र शेयर सङ्ख्याको आधारमा अग्रस्थानमा रहेको एल्पिक एभरेष्ट फाइनान्सको १९ हजार ५ सय ४८ संस्थापक शेयर रू. २५ लाख ४१ हजारभन्दा बढीमा कारोबार भए । २५ नम्बरको ब्रोकरबाट काठमाडौंका राजाराम बानियाँले बेचेको उक्त परिमाणको शेयर बुटवलका एक लगानीकर्ताले खरीद गरेको खुल्न आएको छ । सोमवार एभरेष्ट बैङकको शेयरमूल्य सबैभन्दा धेरै रू. १८ ले बढयो भने सिध्दार्थ फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. ३५ ले घटयो ।
Admin 2011-03-08