नेप्सेले ३ सय २५ को टेवा पनि तोडयो
जेठ २३, काठमाडौं (अस) । नेपाली शेयरको दोस्रो बजार परिसूचक नेप्सेले सोमवार ३ सय २५ को टेवा पनि तोडयो । नेप्सेमा सूचीकृत सबै समूहका परिसूचक घटेपछि नेप्से ४ दशमलव ६२ अङ्कले घटेर ३ सय २३ दशमलव १९ मा आएको हो । सामान्यतया बैङ्क तथा वित्तीय क्षेत्रका परिसूचकमात्रै बढी घट्ने गरेकोमा सोमवार वास्तविक क्षेत्रका परिसूचक पनि उच्च अङ्कले घटे । निकै कम कारोबार हुने व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ९ दशमलव ३४ र होटल समूहको परिसूचक ३ दशमलव ४ अङ्कले घटे । विशालबजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै रू. १ सय ९ ले घटेपछि व्यापार समूहको परिसूचक उच्च अङ्कले घटेको हो भने सोल्टी होटलको शेयर रू. ३ ले घट्दा होटल समूहको परिसूचक ओरालो लागेको हो ।
त्यसैगरी, सबैभन्दा बढी उतारचढाव हुने बैङ्किङ तथा 'अन्य' समूहका परिसूचक पनि लगभग ६ अङ्कले घटेपछि नेप्से ओरालो लागेको हो । बाँकी समूहका परिसूचक भने सधैजसो १ अङ्कको हाराहारीले घटे । सबै समूहका परिसूचक घटेपछि 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
आइतवारको तुलनामा नेप्सेसहित कारोबार सङ्ख्या र कुल बजार पूँजीकरण घटयो भने कम्पनी सङ्ख्या र कारोबार रकममा सामान्य सुधार भयो । सोमवार १ हजार ३ सय २५ कारोबारबाट ८४ कम्पनीका १ लाख ८० हजारभन्दा धेरै कित्ता शेयर किनबेच भए । त्यसबाट लगभग रू. ३ करोड ७५ लाख रकम परिचालन भयो भने ३ खर्ब ८८ अर्बको कुल बजार पूँजीकरण भयो । सोमवार पनि एस डेभलपमेण्ट बैङ्कको संस्थापक शेयर र सोल्टी होटलको शेयर ठूलो परिमाणमा म्याचिङ भएपछि आइतवारको तुलनामा कारोबार रकम बढेको हो । १९ र २९ नम्बर ब्रोकरबाट किनबेच भएका एस डेभलपमेण्ट बैङ्कका ८२ हजार ४ सय ३८ कित्ता संस्थापक शेयरबाट मात्रै झण्डै रू. १ करोड ५५ लाखको कोरबार भयो । त्यसैगरी, १३ नम्बरबाट विक्री भई १९ नम्बरबाट नै खरीद गरिएका सोल्टी होटलका १७ हजार कित्ताबाट थप रू. ३१ लाख ७९ हजार परिचालन भयो ।
सबैभन्दा धेरै रकमको कारोबार हुने तथा सबैभन्दा धेरै कित्ता शेयर किनबेच हुनेमा एस डेभलपमेण्ट बैङ्कको संस्थापक शेयर अग्रस्थानमा रह्यो । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा ज्योति विकास बैङ्कका शेयर १ सय ४८ पटक किनबेच भए । सोमवारको कारोबारमा विश्व विकास बैङ्कको शेयर सबैभन्दा धेरै ६ दशमलव ८ प्रतिशतले महँगियो भयो भने माछापुच्छ्रे बैङ्कको शेयर सबैभन्दा धेरै ८ दशमलव ८५ प्रतिशतले सस्तो भयो । कारोबारमा आएका कुल ८४ मध्ये १९ कम्पनीको शेयरमूल्य बढयो, ५३ को घटयो भने बाँकीको स्थिर रह्यो ।
Admin 2011-06-07