कात्तिक २३, काठमाडौं । तिहारको बिदापछिको पहिलो दिन मङ्गलवार खुलेको शेयरबजार झीनो अङ्कले ओरालो लाग्यो । यस दिन शेयरबजार परिसूचक नेप्से १ दशमलव ११ अङ्कले घटयो । नेप्सेसँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट परिसूचकसमेत ओरालो लागे । कुल ८ सय ७९ वटा कारोबारबाट ६५ कम्पनीका ४७ हजार ३ सय ३ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड २३ लाखभन्दा बढी रकमको परिचालन हुँदा रू. ३ खर्ब ६० अर्बभन्दा बढीको कूल बजार पूँजीकरण भने भयो ।
मङ्गलवार कारोबार भएकामध्ये विकास बैङ्क, वित्त कम्पनी र बीमासमूहका परिसूचक बढे भने वाणिज्य बैङ्क, जलविद्युत् र 'अन्य' समूहका परिसूचक घटे । कारोबार रकमका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडी रह्यो । एशियनको रू. १३ लाखभन्दा बढी रकमको कारोबार हुँदा प्रतिशेयर मूल्य रू. २ सय ५० मा बन्द भयो । शेयर सङ्ख्या र कारोबार सङ्ख्याका आधारमा कृषि विकास बैङ्क सबैभन्दा अगाडि देखियो । कृषि विकासका ९० कारोबारबाट ५ हजारभन्दा बढी कित्ता शेयर खरीद-विक्री भएर प्रतिशेयर मूल्य रू. १ सय ५९ मा बन्द भयो ।
मङ्गलवार नबिल बैङ्क र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल सबैभन्दा धेरै शेयर मूल्य बढ्ने कम्पनीको सूचीमा रहे । यी कम्पनीको प्रतिशेयर मूल्य क्रमशः रू २० र १६ ले बढे । त्यसैगरी, लक्ष्मी बैङ्क र एसबीआई बैङ्क सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीको सूचीमा रहे । यी कम्पनीको शेयर मूल्य क्रमशः रू. ५१ र १२ ले घटयो ।