शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नयाँ सरकार गठनले नेप्सेमा उत्साहजनक वृद्धि
माघ २३, काठमाडौं (अस)। साताको पहिलो दिन शेयर बजारमा उत्साहप्रद वृद्धि भएको छ । आइतवार नेप्से ६ दशमलव ९२ अङ्कले बढेर ४ सय १३ दशमलव ७६ कायम भयो । नेप्सेमा यो वृद्धि गत पुस ११ पछिको सबैभन्दा धेरै हो । आइतवारमा आएको बैङ्किङ समूहका परिसूचकमा भएको उल्लेख्य वृद्धिसहित अन्य सबै समूहको परिसूचक बढेपछि नेप्से बढेको हो । अघिल्ला दिनहरूमा जस्तै आइतवार पनि केही कम्पनीहरूको शेयर उल्लेख्य परिमाणमा बल्क म्याचिङ भए पनि स्वाभाविक कारोबारमा पनि वृद्धि भएको देखिन्छ । आइतवार कारोबारमा आएका कम्पनीमध्ये पशुपति विकास बैङ्क,  पहिलोपटक कारोबार भएको गौरीशङ्कर विकास बैङ्कको संस्थापक शेयर र इम्पेरियल फाइनान्सको बल्क म्याचिङबाट उल्लेख्य मात्रामा कारोबार भएको देखिन्छ । आइतवार भएको कुल कारोबार रकम रू. ६ करोड २८ लाखमा पशुपति डेभलपमेण्ट र गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको हिस्सा क्रमशः २५ र २२ प्रतिशत रहेको छ । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधरणले सजिलै खरीद-विक्री गर्नसक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

आइतबार कारोबारमा आएका ६ समूहमध्ये बैङ्किङ, जलविद्युत् र विकास बैङ्कको शेयर परिसूचक क्रमशः ९ दशमलव ५२, ४ दशमलव ९४ र ३ दशमलव ६६ अङ्कले बढयो । बैङ्किङ समूहमा सूचीकृत नबिल बैङ्क, नेपाल इन्भेष्टमेण्ट बैङ्क, नेपाल एसबीआई बैङ्कलगायतको शेयर मूल्य रू. २५ देखि  रू. ६९ सम्मले  बढेपछि यो समूहको परिसूचक बढेको हो । त्यसैगरी चिलिमे र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्यमा भएको वृद्धिले जलविद्युत् समूहको परिसूचक बढेको हो । सिटी डेभलपमेण्ट र त्रिवेणी डेभलपमेण्ट बैङ्कको शेयरमूल्यमा भएको उच्च वृद्धिले विकास बैङ्क समूहको परिसूचक बढेको देखिन्छ ।

अघिल्लो दिनको तुलनामा आइतवार कारोबार सङ्ख्या र कम्पनी सङ्ख्या घटे पनि शेयर सङ्ख्या र कारोबार रकममा भने उच्च वृद्धि भएको छ । आइतवार १ हजार ७ सय ७२ कारोबारमार्फत ७७ कम्पनीका ३ लाख २२ हजार ७ सय १६ कित्ता शेयर खरीद-विक्रि भए ।  कारोबारमा आएकामध्ये पशुपति डेभलपमेण्ट बैङ्कको सबैभन्दा धेरै १ लाख ४० हजार कित्ता शेयर खरीद-विक्री भए । यसैगरी कारोबार सङ्ख्याका आधारमा इम्पेरियल फाइनान्स सबैभन्दा अगाडि रहयो । यसका ३ सय कारोबारमार्फत ६ हजार ६० कित्ता शेयर खरीद-विक्री भए । आइतवार कारोबारमा आएकामध्ये ४९ कम्पनीको शेयर मूल्य बढयो, १५ कम्पनीको घटयो भने  १२ कम्पनीको शेयर मूल्य स्थिर रहयो । कारोबारमा आएकामध्ये नबिल बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ६९ ले बढयो भने, जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. १ सय १५ ले घटयो ।