शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से घट्नेक्रम रोकिएन, ३ सय १७ मा झर्यो
जेठ २४, काठमाडौं (अस) । मङ्गलवार पनि नेप्से परिसूचक ५ दशमलव ७ अङ्कले घटयो । सोमवार ३ सय २५को टेवा तोडेको नेप्से मङ्गलवार ३ सय १७ दशमलव ४९ मा झरेर ६ वर्षभन्दा पहिलाको अवस्थामा आयो । नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।  

मङ्गलवार बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, फाइनान्स, बीमा र अन्य गरी ६ समूहको कारोबार भए पनि सबैका परिसूचक नकारात्मक रहे । तीमध्ये बैङ्किङ समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव ७७ अङ्कले घटेर २ सय ७१ दशमलव ३४ मा पुग्यो । यो समूहअन्तर्गतको स्टयार्ण्र्डड चार्टर्ड बैङ्को शेयरमूल्य रू. ६७ ले घटयो भने कुमारी, बैङ्क अफ काठमाण्डू, नबिल, नेपाल इन्भेष्टमेण्ट, प्राइम कमर्शियललगायगतका बैङ्कको शेयरमूल्य रू. १० देखि १८ ले घटे । यी बैङ्कका शेयरमूल्य घटेपछि समग्र समूहकै परिसूचक सबैभन्दा धेरैले घटयो ।

मङ्गलवार जलविद्युत् समूहको परिसूचक पनि ५ दशमलव ७ अङ्कले घटयो । यो समूहका चिलिमे हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू.२६ ले घटयो । चिलिमेले केही दिन अघिमात्र साधारण शेयर निष्कासन गरेकाले सो कम्पनीको शेयरमूल्यमा कमी आएको हो । मङ्गलवार अरूणभ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. ९ ले घटयो भने बुटवल पावर कम्पनीको शेयरमूल्य रू. ९ ले बढयो । बुटवल पावर कम्पनीको शेयरमूल्य बढे पनि त्यसको तुलनमा उक्त समूहका अन्य कम्पनीको शेयरमूल्य धेरैले घटेकाले जलविद्युत् समूहकै परिसूचक घटेको हो ।  

साताको तेस्रो दिन नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ५ले घटेपछि अन्य समूहको परिसूचक ५ दशमलव ८७ अङ्कले घटयो । यसैगरी मङ्गलवार विकास बैङ्क, वित्त कम्पनी र बीमा समूहका परिसूचकमा भने सामान्य अङ्कले कमी आयो । सोमवारको तुलनामा मङ्गलवार कारोबार सङ्ख्या, कम्पनी, शेयर सङ्ख्या, रकम परिचालन र बजार पूँजीकरण सबै घटे ।  मङ्गलवार ७२ कम्पनीका १ हजार ४९ कारोबारबाट ५५ हजार १ सय ३५ कित्ता शेयर किनबेच भए । सो किनबेचबाट १ करोड १६ लाख रकम परिचालन भयो । सोमवारको तुलनामा यो करीब साढे २ करोड रुपैयाँले कम हो । मङ्गलवारको कारोबारबाट रू. २ खर्ब ८२ अर्बको बजार परिचालन भयो ।

मङ्गलवार भिबोर विकास बैङ्क, प्राइम कमर्शियल बैङ्क, बैङ्क अफ एशिया र वेष्र्टन डेभलपमेण्ट बैङ्क सबैभन्दा धेरै गुमाउनेमा परे । मालिका विकास बैङ्क र सूर्यदर्शन फाइनान्स, बुटलव पावर कम्पनीलगायत कम्पनी सबैभन्दा धेरै कमाउनेमा सूचीकृत भए । कारोबारका आधारमा बैङ्क अफ काठमाण्डू र चिलिमे हाइड्रोपावर कम्पनी अघि रहे । मङ्गलवार मालिका विकास बैङ्कको शेयर ३ दशमलव शून्य ७ प्रतिशतले महँगो भयो, भने भिबोर विकास बैङ्कको शेयर १० प्रतिशतले सस्तियो ।

Admin 2011-06-08