नेप्सेको गति पुरानै दिशामा
माघ २४, काठमाडौं (अस) । साताको दोस्रो दिन नेप्सेको कुल रकम कारोबार अघिल्लो दिनको तुलनामा ६४ प्रतिशतले घटेर रू.२ करोड २६ लाखमा सीमित भयो । सोमवार नेप्सेका सबै परिसूचकहरू घटेका छन् । साताको पहिलो दिन देशमा भएको राजनीतिक परिवर्तनसगै नेप्सेमा पनि सकारात्मक परिवर्तन देखिएको थियो । तर, साताको दोस्रो दिनमा सो वृद्धि कायम हुन नसक्दा नेप्सेले पुरानै गति लिएर अघिल्लो दिनको तुलनामा ५ दशमलव २८ अङ्कले घटयो । सोमवार जम्मा ६ ओटा समूहको कारोबार भएकामा फाइनान्स समूहको परिसूचकमा मात्र झिनो वृद्धि देखियो भने अरू सम्पूर्ण समूहका परिसूचक घटे । कारोबारको शुरूमा सामान्य वृद्धि देखिए पनि दिउँसो १ बजे पछाडि घट्न शुरू गरेको नेप्से फेरि बढ्न नसक्दा ४ सय ८ दशमलव ४७ अङ्कमा सीमित हुन पुग्यो । नेप्सेमा आएको कमीसँगै सेन्सेटिभ र फ्लोट दुवै परिसूचक पनि घटेका छन् ।
आइतवार सबैभन्दा धेरै अङ्कले वृद्धि भएका बैङ्किङ र जलविद्युत् समूहका परिसूचक सोमवार सबैभन्दा धेरै क्रमशः ७ दशमलव २ र ६ दशमलव ५३ अङ्कले घटे । बैङ्किङ समूहमा महत्त्वपूर्ण स्थान राख्न नेपाल इन्भेष्टमेण्ट, नबिल र स्टयार्ण्र्डड चार्टड बैङ्कको शेयर मूल्यमा आएको ठूलो कमीले बैङ्किङ समूहको परिसूचक घटेको देखिन्छ । यी बैङ्कहरूको शेयर मूल्य क्रमशः ६३, ५२ र १२ रुपैयाँले घटयो । सोमवार १ हजार ६ सय ९९ कारोबारमार्फ ७७ कम्पनीका ९२ हजार ६ सय ७ कित्ता शेयर किनबेच भए । सोमवार भएको कुल कारोबार रकममा बैङ्क अफ एशियाले सबैभन्दा धेरै १२ प्रतिशत हिस्सा ओगटयो ।
सोमवार कारोबारमा आएका मध्ये ४८ कम्पनीको शेयर मूल्य घटयो, १६ कम्पनीको शेयर मूल्य बढयो भने, ७ कम्पनीको शेयर मूल्य स्थिर रहयो । सोमवार कारोबार सङ्ख्यका आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्क सबैभन्दा अगाडि रहयो । यसका २ सय २१ कारोबारमार्फत २५ सय कित्ता शेयर खरीद विक्री भए । त्यसैगरी त्रिवेणी विकास बैङ्कका सबैभन्दा धेरै ७ हजार ७ सय ८० कित्ता शेयरको खरीद विक्रीमार्फत रू. १५ लाख ४० हजारबराबरको कारोबार भयो । सोमवार कारोबार भएका कम्पनीमध्ये शेयर मूल्य सबैभन्दा धेरै घट्ने र बढ्ने दुवै वाणिज्य बैङ्क रहे । नेपाल इन्भेष्टमेण्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. ६३ ले घटयो भने, एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. १५ ले बढयो ।