नेप्सेमा अन्तरराष्ट्रिय शेयरबजारको प्रभाव
साउन २४, काठमाडौं (अस)। विगत २ सातादेखि ओरालो लागेको नेप्से परिसूचक मङ्गलवार पनि ६ दशमलव ३७ अङ्कले घटयो । तीव्र गतिमा ओरालो लागेको अन्तरराष्ट्रिय शेयरबजारको मनोवैज्ञानिक प्रभाव नेपाली लगानीकर्तामा पनि परेकाले नेप्से घटेको जानकारहरूको भनाइ छ । अमेरिकाको साख मूल्याङ्कन घटेलगत्तै संसारभरिका प्रमुख शेयरबजार ओरालो लागेका छन् । 'गत हप्ताको बिहीवार नै सम्हालिन खोजे पनि अन्तरराष्ट्रिय बजारको प्रभावले नेप्से थप तल आएको हो,' एक लगानीकर्ताले भने । नेपाली शेयरबजार अन्तरराष्ट्रिय बजारबाट पूर्णरूपमा अलग्गै रहेकाले नेप्सेको ह्रास लामो समय नटिक्ने उनको विश्लेषण छ । देशमा अहिलेको राजनीतिक अन्योल अन्त्य भएर राष्ट्रिय सरकार बन्ने सङ्केत देखिएकाले पनि शेयरबजारमा सुधार हुन सक्ने सरोकारवालाहरूले बताएका छन् । राजनीतिक अन्योलकै कारण शेयरबजारमा लगानीकर्ताको आकर्षण घटेको उनीहरूको भनाइ छ ।
सोमवार ३ सय ५२ दशमलव १९ मा बन्द भएको नेप्से मङ्गलवार ३ सय ४५ दशमलव ४२ मा झर्यो । नेप्से घटेपछि 'क' वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट पनि घटे । मङ्गलवार कारोबार भएका सात समूहमध्ये बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, वित्त कम्पनी र अन्यको परिसूचक घटे भने होटल र बीमा समूह बढे । मङ्गलवार होटल र बीमा समूहको परिसूचक क्रमश: १ दशमलव १२ र १ दशमलव ३७ अङ्कले बढयो । उक्त दिन तारागाउँ रेजेन्सी होटलको शेयर मूल्य रू. २ ले बढेपछि होटल समूहको परिसूचक सकारात्मक देखिएको हो । त्यसैगरी, मङ्गलवार लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य रू. ११ र सूर्यालाइफ इन्स्योरेन्सको रू. १ ले बढेपछि बीमा समूहको परिसूचक पनि उकालो लागेको हो ।
नेपाल दूरसञ्चार कम्पनीको एकाधिकार रहेको 'अन्य' समूहको परिसूचक मङ्गलवार १० दशमलव ५७ अङ्कले घटयो । उक्त कम्पनीको शेयरमूल्य रू. ९ ले घटेपछि अन्य समूहको परिसूचक दोहोरो अङ्कले घटेको हो । जलविद्युत् समूहको परिसूचक पनि मङ्गलवार १० दशमलव ८४ अङ्कले नकारात्मक रहेको छ । चिलिमे हाइड्रोपावर र बुटवल पावर कम्पनीको शेयर मूल्य क्रमश: १५ र १० रूपैयाँले घटेपछि यो समूहकै परिसूचक नकारात्मक देखिएको हो ।
मङ्गलवार बैङ्किङ समूहको परिसूचक ७ दशमलव ७७ अङ्कले घटेको छ । यो समूहअन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड र नबिल बैङ्कको शेयरमूल्य क्रमश: रू. १ सय र ७० ले घटयो । त्यसैगरी हिमालयन, ग्लोबल, नेपाल बङ्गलादेश बैङ्कलयागतले पनि स्ट्याण्डर्ड चार्टर्ड र नबिललाई नै पछयाएपछि बैङ्किङ समूहको परिसूचक घटेको हो । मङ्गलवार १ हजार १ सय ३६ कारोबारबाट ८५ कम्पनीका २ लाख २३ हजारभन्दा धेरै कित्ता शेयर किनबेच भए । त्यसबाट रू. ३ करोड २० लाखभन्दा धेरै रकम परिचालन भयो भने ३ खर्ब ८ अर्बको कुल बजार पूँजीकरण भयो । अघिल्लो दिनको तुलनामा कम्पनी सङ्ख्या, कारोबार सङ्ख्या र शेयर सङ्ख्याका साथै रकम परिचालन बढेको छ । यसले बजारको गतिशीलता र परिसूचकमा वृद्धि हुन सक्ने सम्भावना देखिन्छ ।
मङ्गलवार कारोबार रकम र किनबेच भएका शेयर सङ्ख्याको आधारमा नेशनल हाइड्रो पावर कम्पनी सबैभन्दा अग्रस्थानमा रह्यो । सो कम्पनीका १ लाख १० हजार १० कित्ता शेयर किनबेच भएर ४६ लाखभन्दा धेरैको कारोबार भयो । कारोबार सङ्ख्याका आधारमा भने विश्व विकास बैङ्क अग्रस्थानमा रह्यो । फाइनान्सतफर्मङ्गलवार रिलाएबल फाइनान्सको शेयर सबैभन्दा धेरै ९ दशमलव शून्य ३ प्रतिशत सस्तो भयो भने स्वस्तिक मर्चेण्ट फाइनान्सको सबैभन्दा धेरै ५ दशमलव १० प्रतिशत बढयो ।
Admin 2011-08-10