शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बुधवार पनि नेप्सेको वृद्धि जारी
असोज २५, काठमाडौं (अस)। दशैपछि लगातार उकालो लागेको नेप्से परिसूचक बुधवार पनि १ दशमलव १८ अङ्क बढयो । गत सोमवार २ दशमलव २२ अङ्क बढेर ३ सय ३३ दशमलव ३ मा बन्द भएको नेप्से परिसूचक बुधवार केही बढेर ३ सय ३४ दशमलव ४८ मा पुगेको हो । गत आइतवार नेप्से परिसूचक सामान्य नकारात्मक अवस्थामा बन्द भएको थियो । दशैंको लामो बिदापछि कारोबार शुरू भएकाले नेप्सेमा सुधारको सङ्केत देखिएको अनुमान छ । यसले शेयर बजार थप बढ्ने सङ्केत देखिएको जानकारहरूको भनाइ छ । काठमाडौंमा भइरहेको गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को पाँचौं सम्मेलनमा नेपालको पूँजी बजारमा सामूहिक लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइएको छ । साथै, अधिकांश बैङ्क तथा वित्त कम्पनीहरूले आगामी वार्षिक साधारणसभाका लागि शेयर दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने क्रम बढिरहेको छ । फलस्वरूप बजारमा शेयर खरीद गर्नेको सङ्ख्यामा विस्तारै वृद्धि भएको छ भने विक्री चाप कम भएको छ । परिणामस्वरूप अधिकांश कम्पनीको मूल्य बढ्दा नेप्से परिसूचक बढेको हो ।     बुधवार नेप्से बढेपछि सेन्सेटिभ र फ्लोट परिसूचक पनि बढे । बुधवार कुल १ हजार ८७ कारोबारबाट ८१ कम्पनीका ७४ हजार ८ सय ८४ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. १ करोड ५३ लाखबराबरको रकम परिचालन भयो भने रू. ३ खर्ब ५ अर्बको कुल बजार पूँजीकरण भयो ।  

बुधवार कारोबार भएका ६ समूहमध्ये वित्त कम्पनी र बीमाबाहेक सबै समूहका परिसूचक बढे । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. २ ले बढेपछि 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै शून्य दशमलव ४८ प्रतिशत बढयो । त्यसैगरी, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ४६ प्रतिशतले बढयो । किष्ट र कुमारी बैङ्कको शेयरमूल्य ४/४ रुपैयाँले घटे भने एभरेष्ट बैङ्कको शेयरमूल्य रू. ३३ ले बढयो । साथै, नेपाल क्रेडिट एण्ड कमर्श, नेपाल बङ्गलादेश, एनएमबीलगायतले एभरेष्टलाई नै पछयाएपछि बैङ्किङ समूहको परिसूचक सकारात्मक देखिएको हो । त्यसैगरी, विकास बैङ्क र जलविद्युत् समूहको परिसूचक पनि क्रमश: शून्य दशमलव १३ र शून्य दशमलव २३ प्रतिशत बढयो । तर, बीमा समूहको परिसूचक सबैभन्दा धेरै शून्य दशमलव ६८ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ११ प्रतिशत घटयो ।  

बुधवार रू. २० लाख ३९ हजारभन्दा धेरैको कारोबार भएर नेपाल एन्भेष्टमेण्ट बैङ्क सबैभन्दा धरै कारोबार गर्नेको समूहमा उक्लियो । सोही दिन युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९ दशमलव ५५ प्रतिशत सस्तियो भने युनियन फाइनान्सको सबैभन्दा धेरै ९ दशमलव १५ प्रतिशत महँगो भयो ।

Admin 2011-10-13