शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से फर्किएको सङ्केत
वैशाख २५, काठमाडौं (अस) । लामो समयदेखि लगातार घटिरहेको नेप्से परिसूचक आइतवार बढेको छ । गत बिहीवार सामान्य सुधारसहित बन्द भएको नेप्से आइतवार पनि बढेपछि यसले अझै बढ्ने सङ्केत गरेको जानकारहरूको बुझाइ छ । आइतवार कारोबारमा आएका ६ समूहमध्ये वित्त कम्पनीबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएपछि नेप्से पनि १ दशमलव १३ अङ्कले बढयो । बैङ्किङ, विकास बैङ्क, जलविद्युत् तथा बीमासमूहका परिसूचकमा सामान्य वृद्धि भए पनि 'अन्य' समूहको परिसूचक झण्डै ५ अङ्कले बढेपछि नेप्से बढेको हो । 'सधैभरि कारोबार शुरू हुनेबित्तिकै घट्ने गरेको नेप्से आइतवार पनि शुरूमा ओरालो लाग्दा तसिएका थियौं,' एक नियमित लगानीकर्ताले भने, 'तर पछि विस्तारै बढ्दै गएर माथि नै बन्द भएपछि केही राहत मिलेको अनुभव भएको छ ।' आइतवार नेप्सेसँगै 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै खरीदविक्री गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचकमा पनि सुधार भयो । कुल ९ सय ९८ कारोबारबाट ७५ कम्पनीका ६३ हजार ९ सय ६६ कित्ता शेयर किनबेच भयो । त्यसबाट रू. १ करोड १८ लाखभन्दा धेरै रकम परिचालन भयो भने ३ खर्ब ३ अर्बभन्दा धेरैको कुल बजार पूँजीकरण भयो । कारोबार रकमका आधारमा रू. १३ लाख ६८ हजारभन्दा धेरैको कारोबारसहित स्ट्यान्डर्ड चार्टर्ड बैङ्क सबैभन्दा अगाडि रह्यो । निकबेच भएका शेयर सङ्ख्याका आधारमा अन्नपूर्ण विकास बैङ्क सबैभन्दा अग्रस्थानमा रहन सफल भयो । अन्नपूर्णका कुल ८ हजार २ सय ७६ कित्ता शेयर किनबेच भए । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा १ सय ५६ कारोबारसहित ज्योति विकास बैङ्क सबैभन्दा अघि देखियो ।

आइतवारको कारोबारमा ३४ कम्पनीको शेयर मूल्य बढयो, २६ कम्पनीको शेयर मूल्य घटयो भने बाँकी सबैको स्थिर रह्यो । कुमारी बैङ्कको शेयर सबैभन्दा धेरै रू. २६ ले घटयो भने एभरेष्ट बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. १८ ले बढयो ।

Admin 2011-05-09