बल्क म्याचिङबाट मात्रै २६ प्रतिशत कारोबार
फागुन २५, काठमाडौं (अस)। बजार खुलेको दोस्रो दिन बुधवार बल्क म्याचिङबाट २६ प्रतिशतभन्दा बढी रकम परिचालन भएपछि कारोबार रकम बढेको छ । बुधवार क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्सको १९ नम्बर ब्रोकरबाट ५० हजारभन्दा बढी शेयर बल्क म्याचिङसहित कारोबार भई रू. ६७ लाखभन्दा बढी रकमको कारोबार भएको छ । बुधवार कारोबार रकमको आधारमा धेरै करोबार गर्ने मध्ये तेस्रो स्थानमा रहेको गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको समेत ससानो परिमाणमा म्याचिङ भएको छ । बुधवार कारोबार रकम, कम्पनी, शेयर र कारोबार सङ्ख्या बढे पनि नेप्से भने १ दशमलव ३५ अङ्कले घटेको छ । नेप्से ३ सय ९२ दशमलव ७१ बिन्दुमा आइपुग्यो । नेप्सेसँगै 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सवसाधारण लगानीकर्ताहरूले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटयो ।
बुधवार कारोबारमा आएका ६ समूहमध्ये 'अन्य' समूहको परिसूचक मात्र बढयो । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य रू.१ ले बढेपछि यो समूहको परिसूचक १ अङ्कले बढयो । अन्य समूहको परिसूचक सामान्य घटेको छ । बुधवार १२ कम्पनीको शेयर मूल्य रू.१० भन्दा बढीले घटेको छ । बुधवार १ हजार ९ सय ८१ कारोबारबाट १ लाख २४ हजार ५ सय ५८ शेयरको खरीद-विक्री भई रू. २ करोड ५२ लाखभन्दा बढी रकम परिचालन भयो । यसबाट ३ खर्ब ४५ अर्ब कुल बजार पूँजीकरण भएको छ । बुधवार कारोबारमा आएका ८१ मध्ये ४९ कम्पनीको शेयर मूल्य बढयो, २२ कम्पनीको शेयर मूल्य घटयो भने बाँकीको स्थिर रहयो ।
बुधवार शेयर र कारोबार रकमका आधारमा क्यापिटल मर्चेण्ट बैङ्क एण्ड फाइनान्स अग्रस्थानमा रहयो । कारोबार सङ्ख्याका आधारमा गौरीशङ्कर डेभलपमेण्ट बैङ्कको शेयर सबैभन्दा धेरै २ सय ७० पटक कारोबार भयो । बुधवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै रू.५४ ले घटयो भने चिलिमे जलविद्युत् र लक्ष्मी बैङ्कको शेयर मूल्य सबैभन्दा धेरै रू. २३ ले बढयो । बुधवारबाट हिमाल फाइनान्स लिमिटेडको शेयर कारोबारका लागि सूचीकृत भए पनि कारोबारमा भने आएन ।
Admin 2011-03-10