शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

वित्तीय सङ्कटको डरले नेप्से घट्न रोकिएन
जेठ २५, काठमाडौं (अस)। पछिल्लो समयमा अर्थतन्त्रमा वित्तीय सङ्कटका लक्षणहरू देखिँदै गएपछि बैङ्क तथा वित्तीय संस्थाको प्रभुत्व रहेको शेयर बजार परिसूचक नेप्से तीब्र गतिमा घट्न थालेको छ । विभिन्न वित्तीय संस्थाहरूमा वित्तीय अपराधका तथ्यहरू सार्वजनिक भएर त्यस्ता संस्थाका सञ्चालकहरू बेपत्ता हुनेक्रम बढेपछि वित्तीय सङ्कटको डरले लगानीकर्ताहरू निरास बन्दै गएका छन् । फलस्वरूप, शेयरको विक्रीचापमा वृद्धि भएपछि बुधवार पनि नेप्से परिसूचक ६ दशमलव २२ अङ्कले घटयो ।

गत साताको पहिलो दिनदेखि नै उच्च अङ्कमा घट्न थालेको नेप्से  परिसूचक यस साता बढ्दो दरमा घटिरहेको छ । गत साताको मङ्गलवार नेप्से परिसूचक ६ दशमलव शून्य ४ अङ्कले घटे पनि अन्य दिनमा भने सामान्य घटेको थियो । तर, यो साताको शुरूदेखि नै नेप्से उच्च अङ्कले घटदै आएको छ । लगातार घट्दो शेयर बजारका बारेमा सम्बन्धित निकायहरूबाट विभिन्न छलफल तथा गोष्ठी आयोजना हुनुका साथै उच्च सरकारी व्यक्तिहरूले बजार सुधार गर्न पहल गर्ने बताएका छन् । तर, त्यस्ता छलफल र अभिव्यक्तिले ओरालो लागेको नेप्सेको मारमा परेका लगानीकर्तालाई कुनै राहत दिन सकेको छैन ।  

बुधवार नेप्से ६ दशमलव २२ अङ्कले घटेर ३ सय ११ दशमलव २७ मा झर्यो । नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे । बुधवार कारोबारमा आएका ८ समूहमध्ये ६ समूहको परिसूचक घटेपछि नेप्से झरेको हो । 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै ११ दशमलव ७४ अङ्कले घटयो । 'अन्य' समूहमा सूचीकृत नेपाल दूरसञ्चार कम्पनीको शेयर रू. १० ले घटेपछि यो समूहको परिसूचक घटेको हो । त्यसैगरी बैङ्किङ समूहको परिसूचक पनि ६ दशमलव ६२ अङ्कले घटयो । बुधवार स्टयार्ण्र्डड चार्टर्डको शेयर रू. ७४ र लक्ष्मी बैङ्कको रू. ४० ले घटयो । त्यसैगरी नबिल, हिमालयन, ग्लोबल, नेपाल इन्भेष्टमेण्टलगायतका बैङ्कको शेयर पनि घटेपछि समग्र समूहकै परिसूचक घटेको हो । बुधवार होटल समूहको परिसूचक भने ३ दशमलव ४ अङ्कले बढयो । सोल्टी होटलको शेयर मूल्यमा रू. ३ ले वृद्धि भएपछि यो समूहको परिसूचक बढेको हो ।

मङ्गलवारको तुलनामा नेप्से घटे पनि कारोबार सङ्ख्या, कम्पनी, शेयर सङ्ख्या र रकम परिचालन सबै बढे । तर, बजार पूँजीकरण घटयो । बुधवार १ हजार १ सय ३५ कारोबारबाट ८५ कम्पनीका २ लाख ५१ हजार ७ सय ४७ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ करोड ८४ लाख रकम परिचालन भयो भने २ खर्ब ७७ अर्बको बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये लक्ष्मी बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ८५ प्रतिशतले सस्तियो भने बैङ्क अफ एशिया नेपालको शेयर सबैभन्दा धेरै ८ दशमलव २१ प्रतिशतले मँहगो भयो ।

Admin 2011-06-09