नेप्सेको सुधार टिक्यो
कात्तिक २५, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ दशमलव १ अङ्कले बढेर ४ सय २४ दशमलव ७९ मा पुग्यो । नेप्से बढेपछि सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट परिसूचक पनि बढे । बुधवारको तुलनामा बिहीवार कारोबार रकम, शेयर सङ्ख्या, कारोबार भएका कम्पनी र कारोबार सङ्ख्या सबै बढे । यसले समग्र शेयर बजारमा सुधार हुने सङ्केत बढेको छ । बिहीवार कारोबार भएका ६ समूहमध्ये विकास बैङ्क समूहबाहेक अरू सबै समूहका परिसूचक बढे ।
बिहीवार १ हजार ४ सय ८ कारोबारबाट ८६ कम्पनीका ८७ हजार २ सय ७५ कित्ता शेयर किन-बेच भए । यसबाट रू. २ करोड ८४ लाखभन्दा बढी रकम परिचालन भयो भने रू. ३ खर्ब ६० अर्ब ८५ करोडको कुल बजार पूँजीकरण भयो ।
विकास बैङ्कको परिसूचक शून्य दशमलव ५२ अङ्कले घटेर ३ सय ९६ दशमलव ५८ मा सीमित भयो । बिहीवार एस डेभलपमेण्ट बैङ्क, अल्पाइन डेभलपमेण्ट बैङ्कलगायतका प्रमुख विकास बैङ्कहरूको शेयर मूल्य घटेपछि यो समूहको परिसूचक घटेको देखिन्छ । बैङ्किङ समूहमा सबैभन्दा बढी प्रभाव पार्ने स्ट्यार्ण्र्डड चार्र्टर्ड, एभरेष्ट, हिमालयन, इन्भेष्टमेण्ट र नेपाल एसबीआईलगायतका बैङ्कहरूको शेयर मूल्य बढेकाले यस समूहकै परिसूचक बढेको हो । बीमा समूहको परिसूचक सबैभन्दा बढी ६ दशमलव ९६ अङ्कले बढ्यो । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर मूल्य रू. ३० ले बढेकाले यो समूहको परिसूचकमा सुधार आएको हो । बिहीवार चिलिमे हाइड्रोपावरको शेयर मूल्य रू. १९ ले बढेकाले जलविद्युत् समूहको परिसूचक ५ अङ्कले बढ्यो । बिहीबार कारोबार रकमका आधारमा रू. ३१ लाखभन्दा बढीको कारोबारसहित नबिल बैङ्क सबैभन्दा अगाडि रह्यो ।
शेयर सङ्ख्याका आधारमा ७ हजारभन्दा बढी कित्ता शेयर किन-बेच भएर नेशनल हाइड्रोपावर कम्पनी सबैभन्दा अगाडि रह्यो । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा २ सय १२ कारोबार हुँदा सूर्यदर्शन फाइनान्स कम्पनी सबैभन्दा अघि रह्यो । बिहीवार रिलायबल फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ३७ दशमलव १८ प्रतिशतले घटेर ४ सय ४५ रुपैयाँमा सीमित भयो भने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ५ दशमलव २२ प्रतिशतले बढ्यो ।