नेप्से स्थिर कारोबार रकम आधा घटयो
माघ २५, काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार नेप्से परिसूचक लगभग स्थिर रहे पनि कारोबार रकम भने झण्डै आधाले घटयो । औसत दिनमा भन्दा निकै कम कम्पनीको कारोबार भएपछि रकम परिचालन पनि ४६ प्रतिशतभन्दा धेरैले घटेर रू. १ करोड ५ लाखमा सीमित भएको हो । केही सातायता बढेको म्याचिङ कारोबार मङ्गलवार पनि कायम नै रहयो । म्याचिङ कारोबार हुनेमा सेवा विकास बैङ्क र सिटी डेभलपमेण्ट बैङ्कलगायत रहेका छन् । नेप्से घटेपछि 'क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र र्सवसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।
मङ्गलवार कारोबारमा आएका १८ बैङ्क मध्ये १० को मूल्य घटेकाले बैङ्किङ समूहको परिसूचक बढ्न सकेन । कारोबारमा आएको नबिल बैङ्कका ४ सय २० कित्ता संस्थापक शेयर रू. ४ सय ६५ भन्दा बढीले घटेर कारोबार भयो । त्यसैगरी, जलविद्युत् समूहबाट कारोबार भएको अरुण भ्याली हाइड्रोपावर र होटल समूहबाट कारोबार भएको ओरियण्टल होटलको शेयर मूल्य घट्दा दुवै समूहको परिसूचक घटेको हो । विकास बैङ्क समूहबाट कारोबारमा आएका १५ कम्पनीमध्ये ११ को र वित्त समूहका १३ मध्ये ६ कम्पनीको शेयर मूल्य घटेपछि यी दुवै समूहको परिसूचक घटे । त्यस्तै, बीमा समूहबाट कारोबारमा आएका ६ कम्पनीमध्ये २ को शेयर मूल्य घट्दा र २ को स्थिर रहँदा यो समूहको परिसूचक बढ्न सकेन । नेपाल दूरसञ्चार कम्पनीको शेयर मूल्य घटेकोले 'अन्य’ समूहको परिसूचक घटयो ।
मङ्गलवार १ हजार २ सय ९ कारोबारबाट ५९ कम्पनीका ४७ हजार ६ सय ६५ कित्ता शेयर खरीद-विक्री भए । त्यसबाट रू.३ खर्ब ५५ अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार ३३ कम्पनीको शेयर मूल्य घटयो, १५ कम्पनीको शेयर मूल्य बढयो भने ११ कम्पनीको शेयर मूल्य स्थिर रहयो । मङ्गलवार शेयर सङ्ख्या, कारोबार सङ्ख्या र कारोबार रकमका आधारमा ज्योति विकास बैङ्क अग्रस्थानमा रहयो । बैङ्कको २ सय १५ कारोबारबाट ६ हजार ७ सय ६० शेयर खरीद-विक्री भई रू.९ लाख १२ हजार रकम कारोबार भयो । मङ्गलवार नबिल बैङ्कको संस्थापक शेयर सबैभन्दा धेरैले घटयो भने श्री इन्भेष्टमेण्ट फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै रू. ९ ले बढयो । मङ्गलबारबाट कारोबार शुरू भएको काबेली विकास बैङ्कका ४० कित्ता शेयरको अन्तिम मूल्य रू.२ सय ७ कायम भयो ।