शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से सुधारको बाटोमा
साउन २५, काठमाडौं (अस)। विगत २ सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधवार ६ दशमलव १८ अङ्कले बढयो । मङ्गलवार ३ सय ४५ दशमलव ४२ मा बन्द भएको नेप्से परिसूचक बुधवार बढेर ३ सय ५२ मा पुगेको छ । विगत केही समयदेखि घट्दै गएको अन्तरराष्ट्रिय शेयर बजारको मनोवैज्ञानिक प्रभावले नेपालको शेयर बजारमा पनि सुधार आउन सकेको थिएन । हाल उक्त बजारको प्रभाव नेपाली शेयर बजारमा नपर्ने बुझिएपछि यो बजारमा सुधार देखिन शुरू भएको जानकारहरूले बताएका छन् । आगामी दिनमा नेपाली शेयर बजार उकालो लाग्ने उनीहरूको अनुमान छ । नेप्से बढेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट पनि बढे ।

बुधवार ६ समूहको कारोबार भएकोमा विकास बैङ्कबाहेक सबै समूहको परिसूचक बढेको छ । बुधवार क्लिन इनर्जी डेभलपमेण्ट बैङ्क, कामना विकास बैङ्क र मालिका विकास बैङ्कको शेयरमूल्य रू. ६/६ ले घटयो । सीटी डेभलपमेण्ट बैङ्क, एस डेभलपमेण्ट बैङ्क, एक्सल डेभलपमेण्ट बैङ्कलगायतले पनि क्लिन इनर्जी, कामना र माकिकालाई नै पछयाएपछि यो समूहको परिसूचक नकारात्मक रहेको हो । नेपालको शेयर बजारमा निरन्तर उतारचढाव ल्याइरहने बैङ्किङ समूहको परिसूचक बुधवार सबैभन्दा धेरै ९ दशमलव २१ अङ्कले बढेर ३ सय १९ दशमलव ५७ मा पुगेको छ । यो समूहअन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, नबिल बैङ्क र हिमालयन बैङ्कको शेयरमूल्य क्रमश: ६०, ५२ र ३२ रुपैयाँले बढयो ।  एभरेष्ट बैङ्क, बैङ्क अफ काठमाण्डू, नेपाल इन्भेष्टमेण्ट बैङ्कलगायतले पनि स्ट्याण्डर्ड चार्टर्ड, नबिल र हिमालयनकै बाटो समाएपछि बैङ्किङ समूहकै परिसूचक सकारात्मक देखिएको हो । सोही दिन नेपाल दूरसञ्चार कम्पनीको एकाधिकार रहेको अन्य समूहको परिसूचक ५ दशमलव ८७ अङ्कले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य रू. ५ ले बढेपछि अन्य समूहकै परिसूचक बढेको हो । यसैगरी, जलविद्युत् समूहको परिसूचक पनि बुधवार ५ दशमलव ५ अङ्कले बढयो । अरूण भ्याली हाइड्रोपावर र चिलिमेको शेयरमूल्य क्रमश: रू. १३ र १२ ले बढेपछि जलविद्युत् समूहको परिसूचक सकारात्मक देखिएको हो । वित्त कम्पनी र बीमा समूहको परिसूचक बुधवार क्रमश: शून्य दशमलव १९ र १ दशमलव ४ अङ्कले बढे ।

वुधवार १ हजार २ सय २ कारोबारबाट ८२ कम्पनीका २ लाख १० हजार ५ सय १९ कित्ता शेयर किनबेच भए । सो कारोबारबाट रू. २ करोड ५६ लाख परिचालन भयो भने  रू. ३ खर्ब १३ अर्ब बजार पूँजीकरण भयो । बुधवार रू. ४० लाख ३१ हजारभन्दा बढीको शेयर कारोबार भएर नेशनल हाइड्रोपावर कम्पनी सबैभन्दा धेरै कारोबार गर्नेको सूचीमा उक्लियो । उक्त दिन सो कम्पनीका ९८ हजार २ सय ८० कित्ता शेयर किनबेच भए । सोही दिन आईसीएफसी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव ९६ प्रतिशत सस्तियो भने एनआईडीसी क्यापिटल मार्केट्सको शेयरमूल्य सबैभन्दा बढी ८ दशमलव ८४ प्रतिशत महँगो भयो ।

Admin 2011-08-11