शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से पाँच अङ्क माथि
असार २६, काठमाडौं (अस)। आइतवार नेप्से परिसूचक ५ दशमलव शून्य ५ अङ्कले बढेर ३ सय ४६ मा पुग्यो । गत साताको अन्तिम दिन ३ सय ४० दशमलव ९६ मा बन्द भएको नेप्से यो साताको पहिलो दिन नै बढयो । कारोबारको पहिलो दिन उकालो लागेपछि यो साताभरि शेयर बजार सुधारात्मक अवस्थामा रहने लगानीकर्ताहरूले अनुमान गरेका छन् । गत हप्ता सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि नेप्सेमा सकारात्मक प्रभाव परेको देखिन्छ । नेप्से बढेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।

आइतवार कारोबार भएकामध्ये बैङ्किङ, विकास बैङ्क, होटल, उत्पादन तथा प्रशोधन र 'अन्य' समूहका परिसूचक बढे भने जलविद्युत्, वित्त कम्पनी र बीमा समूहका परिसूचक घटे । आइतवार नेपाल दूरसञ्चार कम्पनीको एकाधिकार रहेको 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै ९ दशमलव ३ अङ्कले बढयो भने बैङ्किङ समूहको परिसूचक ५ दशमलव ९२ अङ्कले बढयो । अघिल्लो दिनको तुलनामा यो क्रमश: १ दशमलव ९७ र शून्य दशमलव ४९ प्रतिशत हो । आइतवार नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ८ ले बढेपछि अन्य समूहको परिसूचक उकालो लागेको हो । यसैगरी, शेयर बजारमा निरन्तर उतारचढाव ल्याइरहने बैङ्किङ समूहका  स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य रू. ४० र एभरेष्टको रू. ३६ ले बढयो । बैङ्क अफ काठमाण्डू, नबिल, हिमालयनलगायत बैङ्कले पनि  स्टयाण्डर्ड चार्टर्ड र एभरेष्टकै बाटो पछयाएपछि बैङ्किङ समूहकै परिसूचक बढेको हो । तर, आइतवार नबिल बैङ्कको संस्थापक शेयर भने मूल्य रू. १ सय २ ले घटे पनि यसको प्रभाव बैङ्किङ समूहको परिसूचकमा परेन । त्यसैगरी, बोर्टलस नेपालको शेयरमूल्य रू. १ सय ५४ ले बढेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक आइतवार शून्य दशमलव ५८ प्रतिशत बढयो ।

आइतवार जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ५ दशमलव ४९ अङ्कले घटयो । यो समूहअन्तर्गतका चिलिमे र अरूणभ्यालीको शेयरमूल्य क्रमश: २८ र ६ रुपैयाँ घटे । यो समूका अरू कम्पनीको शेयरमूल्यमा सामन्य वृद्धि भए पनि परिसूचक बढ्न सकेन । त्यसैगरी सोही दिन वित्त कम्पनी र बीमा समूहको परिसूचक क्रमश: शून्य दशमलव शून्य ७ र शून्य दशमलव १२ अङ्क तल आयो ।   

आइतवार ९ सय ३९ कारोबारबाट ७४ कम्पनीका १ लाख ८८ कित्ता शेयर किनबेच भएर रू. २ करोड ९५ लाख परिचालन भयो । त्यसबाट, रू. ३ खर्ब ८ अर्बको कुल बजार पूँजीकरण भयो । आइतवार फेवा फाइनान्स कम्पनीको संस्थापक शेयर विक्री भएर सबैभन्दा बढी कारोबार गर्नेको सूचीमा पर्यो । सोही दिन नबिल बैङ्क लिमिटेडको संस्थापक शेयर सबैभन्दा धेरै ९ दशमलव ९३ प्रतिशत सस्तियो भने एनसीएम म्युचुअल फण्डको प्रतिइकाइ मूल्य सबैभन्दा धेरै १० दशमलव शून्य १ प्रतिशत महँगो भयो ।

Admin  2011-07-11