शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से बढयो, कारोबार रकम घटयो              
वैशाख २६, काठमाडौं (अस) । सोमवार नेप्से सामन्य बढे पनि कारोबार रकम भने आधाभन्दा धेरैले घटेको छ । सोमवार उच्चस्तरीय वित्तीय सुधार समन्वय समितिको बैठक बस्ने र शेयर धितो कर्जाका सम्बन्धमा नयाँ व्यवस्था आउनेे खबरले नेप्सेमा प्रभाव परेको हो । यसदिन नेप्से शून्य दशमलव १८ अङ्कले बढेर ३ सय ४० दशमलव ८५ कायम भएको छ । तर, पछिल्ला दिनहरूमा औसत दैनिक डेढ करोड कारोबार हुँदै आएकोमा सोमवार रू. ५१ लाख १२ हजारमा सीमित भएको छ । सोमवार नेशनल हाइड्रोपावर कम्पनीको किनबेच भएका कुल ११ हजार ७ सय कित्ता शेयरमध्ये ११ हजार २ सय कित्ता शेयर बल्क म्याचिङ भएका छन् । कम्पनीको शेयर ब्रोकर नम्बर १८ र ८ बीच किनबेच भएका हुन् । कम्पनीको शेयर अञ्जन केसीले विक्री गरेको बुझिएको छ । यसै दिन इम्पेरियल फाइनान्सको पनि ब्रोकर नम्बर १७ बाटै किनबेच भई ४ हजारभन्दा धेरै कित्ता म्याचिङ भएको छ । नेप्सेसँगै ँक’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक बढे पनि सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक भने घटेको छ ।

सोमवार कारोबारमा आएका ५ समूहमध्ये बैङ्किङ र वित्त कम्पनी समूहको परिसूचक बढे । यसदिन एभरेष्ट, हिमालयन, नेपाल एसबीआई बैङ्कलगायत बैङ्कहरूको शेयरमूल्य बढेपछि बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ५८ अङ्कले बढयो । त्यसैगरी, जेनरल, नारायणी नेशनल फाइनान्सलगायत कम्पनीको शेयरमूल्य बढेपछि वित्त समूहको परिसूचक शून्य दशमलव शून्य ८ ले बढयो । यसदिन विकास बैङ्क, जलविद्युत् र बीमा कम्पनीको परिसूचक सामान्य घटे ।

सोमवार कारोबार रकमसँगै कम्पनी, शेयर र कारोबार सङ्ख्या पनि घटे । यसदिन ५६ कम्पनीका ७ सय ४२ कारोबारबाट ४१ हजार ७६ शेयर किनबेच भएका छन् । यस दिन रू. ३ खर्ब ३ अर्ब रकमको कुल बजार पूँजीकरण भएको छ ।

यसदिन ३१ कम्पनीको शेयरमूल्य घटेर, १३ कम्पनीको शेयरमूल्य बढेर कारोबार भयो भने बाँकीको स्थिर रहयो । यस दिन कारोबार सङ्ख्या र कारोबार रकमको आधारमा लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहयो । कम्पनीको १ सय १२ कारोबारबाट सबैभन्दा धेरै रू. ६ लाख ३१ हजार रकमको कारोबार भयो । शेयर सङ्ख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहयो । सोमवार एभरेष्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू.१८ ले बढयो भने बैङ्क अफ काठमाण्डू, कुमरी बैङ्क र एस डेभलपमेण्ट बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ९ ले घटे ।

Admin 2011-05-10