शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से ३ सय ३ को टेवा परीक्षण गर्ने सुरमा
जेठ २६, काठमाडौं (अस)। बिहीवार नेप्से परिसूचक २ दशमलव ३८ अङ्कले घटेर ३ सय ८ दशमलव ८९ मा पुग्यो । बुधवारको तुलनामा नेप्सेको घट्नेदर कम भएको छ । बिहीवार नेपाल राष्ट्र बैङ्कले तरलता सङ्कटमा परेको भिबोर विकास बैङ्कलाई अन्तिम ऋणदाताका रूपमा सहयोग गर्ने निर्णय गरेपछि कारोबार बन्द हुने समयमा नेप्से केही बढेको हो । राष्ट्र बैङ्कको वित्तीय सहयोगसम्बन्धी निर्णय सार्वजनिक भएपछि दिउँसो ओरालो लागेका एभरेष्ट बैङ्क, भिबोर विकास बैङ्कलगायत कम्पनीको मूल्य बढेपछि नेप्सेको ह्रास २ अङ्कमा सीमित भएको हो ।

अघिल्लो सातादेखि निरन्तर घट्दै आएको नेप्सेको घट्ने क्रममा बिहीवार भने केही कमी आउनुलाई सकारात्मक रूपमा लिइएको छ । साताको अन्तिम दिन घट्ने क्रममा कमी आएकाले अर्को साता बजार सुधार हुने लगानीकर्ताहरूको अनुमान छ ।  बिहीवार नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे ।

बिहीवार कारोबार भएकामध्ये बैङ्किङ, विकास बैङ्क, जलविद्युत्, वित्त कम्पनी र उत्पादनमूलक समूहको परिसूचक घटे भने होटेल, बीमा र 'अन्य' समूहका परिसूचक बढे ।  कारोबार भएकामध्ये जलविद्युत् समूहको परिसूचक बिहीवार सबैभन्दा बढी १४ दशमलव १८ अङ्कले घटयो । यो समूहअन्तर्गतका सबै कम्पनीको शेयरमूल्य घटेकाले यो परिसूचक उच्च अङ्कले घटेको हो । शेयर बजारमा धेरै उतारचढाव ल्याइरहने बैङ्किङ समूहको परिसूचक बिहीवार ५ दशमलव ९ अङ्कले घटयो । बिहीवार स्टयार्ण्र्डड चार्टर्ड बैङ्कको शेयरमूल्य रू. ४९ र लक्ष्मी बैङ्कको रू. ३६ ले सस्तो भयो । त्यसैगरी नेपाल एसबीआई बैङ्क, कुमारी बैङ्क, हिमालयन बैङ्कलगायत बैङ्कको शेयरमूल्यमा पनि कमी आएको छ । उत्पादन तथा प्रशोधन समूहअन्तर्गतको युनिलिभर नेपालको शेयरमूल्य रू. २ सय ४ ले घटेपछि समग्र समूहकै परिसूचक ३ दशमलव ७ अङ्कले घटयो । बिहीवार 'अन्य' समूहको परिसूचक भने ८ दशमलव २२ अङ्कले बढयो । नेपाल दूरसञ्चार कम्पनीको शेयरमूल्य रू. ७ ले बढेपछि यो समूहको परिसूचक बढेको हो । बिहीवार नेपाल दूरसञ्चार कम्पनीका ९ सय ८० कित्ता शेयर किनबेच भए ।

बुधवारको तुलनमा बिहीवार कारोबार सङ्ख्या बढे पनि कम्पनी सङ्ख्या, शेयर सङ्ख्या र रकम परिचालन घटयो । बिहीवार १ हजार १ सय ५३ कारोबारबाट ७४ कम्पनीका ९७ हजार ६ सय २६ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ करोड ६० लाख परिचालन भयो भने २ खर्ब ७४ अर्बको कुल बजार पूँजीकरण भयो । बिहीवार चिलिमे  हाइड्रोपावरको सबैभन्दा धेरै रू. ९४ लाख ९९ हजारका शेयर किनबेच भए । त्यसैगरी हिमालय फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० दशमलव २६ प्रतिशतले सस्तियो भने प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ४१ प्रतिशत महँगो भयो ।

Admin 2011-06-10