शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्सेमा सामान्य वृद्धि
साउन २६, काठमाडौं (अस) । बिहीवार बैङ्किङ समूहको परिसूचकमा सुधार आएपछि नेप्से सामान्य बढेको छ । एनएमबी, ग्लोबल, हिमालयन, माछापुच्छ्रे, डीसीबीएललगायत बैङ्कका १६ वाणिज्य बैङ्कको शेयरमूल्य बढेपछि यो समूहको परिसूचक १ दशमलव ४६ ले बढेको छ । नेप्से शून्य दशमलव ६६ अङ्कले बढेर ३ सय ५२ दशमलव ६६ अङ्कमा आइपुगेको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको फ्लोट परिसूचक पनि बढे ।  

बिहीवार सिध्दार्थ विकास बैङ्कको १७ हजार संस्थापक शेयर पनि खरीद-विक्री भएका छन् । ब्रोकर नम्बर १६ र २५ बीच भएको शेयर किनबेचबाट रू. १ सय १४ कायम भई १९ लाख ३८ हजार रकम परिचालन भएको छ । बिहीवार खरिद-विक्री भएका ६ समूहमध्ये जलविद्युत् र बीमा समूहको परिसूचक क्रमश: २ दशमलव शून्य ७ र १ दशमलव २४ ले घटे भने विकास बैङ्क र वित्त कम्पनी दुवैको परिसूचक शून्य दशमलव ४३ ले घटे । 'अन्य’ समूहको परिसूचक भने स्थिर रह्यो ।

बिहीवार कम्पनी सङ्ख्या र कुल बजार पूँजीकरण बढे पनि खरीद-विक्री सङ्ख्या, शेयर सङ्ख्या, र रकम परिचालन भने घटे । ८९ कम्पनीका १ हजार २ सय  खरीद-विक्रीबाट १ लाख १८ हजार ५ सय ६८ शेयर किनबेच भए, जसबाट रू.२ करोड २८ लाखबराबरको रकम परिचालन भयो भने रू. ३ खर्ब १४ अर्बको कुल बजार पूँजीकरण भयो । सो दिन ३६ कम्पनीको शेयरमूल्य बढयो, ३६ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रह्यो ।  

खरीद-विक्री सङ्ख्याका आधारमा गरिमा विकास बैङ्क र शेयर सङ्ख्याका आधारमा सिध्दार्थ विकास बैङ्कको संस्थापक शेयर अग्रस्थानमा रह्यो । गरिमा विकासको शेयर १ सय ४४ पटक खरीद-विक्री भयो । रकम परिचालनका आधारमा बैङ्क अफ काठमाण्डू अग्रस्थानमा रह्यो । बैङ्कको ४ हजार ४ सय ८६ शेयर किनबेच भई रू. २५ लाख ६९ हजारको कारोबार भयो । प्रतिशतको आधारमा सबैभन्दा धेरै मूल्य गुमाउनेमा हिमालयन फाइनान्स (९ दशमलव ३३) र सबैभन्दा धेरै कमाउनेमा छिमेक लघुवित्त विकास बैङ्क (९ दशमलव ६८ प्रतिशत) रहेका छन । सो दिन मूल्यको आधारमा भने नेरुढे लघुवित्त विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३५ ले बढयो भने स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. ३८ ले घटयो । नेप्सेमा बिहीवार पहिलोपटक १० कित्ता शेयर किनबेच भएर रारा विकास बैङ्कको शेयर मूल्य रू. ३ सय ९५ कायम भएको छ ।  

Admin 2011-08-11