नेप्सेमा टेलिकमको प्रभाव
असार २७, काठमाडौं । सोमवार भएको शेयर कारोबारमा नेपाल टेलिकमको प्रभाव परेपछि नेप्से समान्य बढेको छ । करीब सवा एक बजेसम्म बढिरहेको नेप्से त्यसपछि अचानक घटयो । नेपाल टेलिकमको शेयरमूल्य घटेर कारोबार हुँदा नेप्से त्यसरी घटेको हो । करीब डेढ बजेपछि पुन: उकालो लागेको नेप्सेमा फेरि नेपाल टेलिकमको अवरोध खडा भयो । दोस्रोपटक करीब १ बजेर ४८ मिनेटमा कारोबारमा आएको टेलिकमको मूल्य यसपटक पनि घट्दा नेप्से पुन: घटयो । तर, त्यसपछि अन्य कम्पनीको कारोबार बन्द भयो । अन्य कम्पनीहरूको शेयरमूल्य बढ्ने क्रम भने जारी रह्यो, जसले गर्दा कारोबार बन्द हुँदा नेप्से अघिल्लो दिनभन्दा केही बढयो । सोमबार नेप्से शून्य दशमलव शून्य ३ ले बढेर ३ सय ४६ दशमलव शून्य ४ मा बन्द भयो । सोमवार नेप्सेसँगै सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक बढे पनि 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक भने घटयो । नेपाल टेलिकमसहित सिध्दार्थबैङ्क, सिध्दार्थइन्स्योरेन्स, एभरेष्ट बैङ्क, डीसीबीएल बैङ्क, चिलिमे जलविद्युत्, अरुण भ्याली हाइड्रोपावरलगायत कम्पनीको शेयरमूल्य घटेपछि सेन्सेटिभ परिसूचक घटेको हो ।
सोमवार कारोबारमा आएका आठमध्ये बीमा र 'अन्य’बाहेक बाँकी समूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन समूह, जलविद्युत्, होटल, बैङ्किङ, वित्त कम्पनी र विकास बैङ्क समूहको परिसूचक क्रमश: २० दशमलव ७९, १५ दशमलव ७६, ३ दशमलव ३९, २ दशमलव २१, १ दशमलव ३८ र शून्य दशमलव १७ ले बढेका छन् । बोटलर्स नेपाल (तराई), बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्य रू. ३१ र २७ ले बढेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको हो । त्यसैगरी, बुटवल हाइड्रोपावर कम्पनीको शेयरमूल्य रू. ४० ले बढेपछि जलविद्युत् समूहको परिसूचक धेरैले बढयो । सोल्टी होटलको शेयरमूल्य रू. ३ ले बढेपछि होटल समूहको परिसूचक बढेको हो । सोमवार कम्पनी सङ्ख्या र रकम परिचालन बढे भने कारोबार र शेयर सङ्ख्या सामान्य घटे । यस दिन ८४ कम्पनीका ९ सय २७ कारोबारबाट १ लाख १५ हजार ९ सय ७० शेयर किनबेच भए, जसबाट रू. ३ करोड ५० लाखबराबरको रकम परिचालन भएको छ भने रू. ३ खर्ब ८ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएकामध्ये ३६ कम्पनीको शेयरमूल्य बढयो, ३२ कम्पनीको शेयरमूल्य घटयो र बाँकीको स्थिर रह्यो ।
सोमवार कारोबार सङ्ख्याको आधारमा ज्योति विकास बैङ्क र शेयर सङ्ख्याको आधारमा लक्ष्मी बैङ्क अग्रस्थानमा रहे । ज्योतिको ७२ कारोबार भयो भने लक्ष्मीको १० हजार ४ सय ४४ शेयर किनबेच भए । त्यसैगरी, कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको बैङ्क अफ काठमाण्डूको रू. ४८ लाख ७ हजार रकम परिचालन भयो । बोटलस नेपाल (बालाजु) को शेयरमूल्य सबैभन्दा धेरैले बढयो भने नबिल बैङ्कको संस्थापक शेयरको मूल्य सबैभन्दा धेरै रू.३९ ले घटयो ।
Admin 2011-07-12