शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नेप्से करीब ४ अङ्कले बढयो
वैशाख २७, काठमाडौं (अस)। उच्चस्तरीय वित्तीय सुधार समन्वय समितिको सोमवार बसेको बैठकले शेयर धितोमा दिने कर्जाका सम्बन्धमा पुनर्विचार गर्ने निर्णयगरेपछि मङ्गलवार नेप्से करीब ४ अङ्कले बढयो । यस दिन बैङ्किङ समूहको परिसूचक ६ अङ्कभन्दा धेरैले बढेपछि नेप्से बढेको हो । स्टयार्ण्र्डड चार्टर्ड, बैङ्क अफ काठमाडू, एभरेष्ट बैङ्क, सिटिजन्स् बैङ्क, सिध्दार्थ बैङ्क, कुमारी बैङ्कलगायत कम्पनीको शेयरमूल्य रू. १० देखि ३६ सम्मले बढेपछि बैङ्किङ समूहको परिसूचक बढेको हो । मङ्गलवार चिलिमे जलविद्युत् र नेशनल हाइड्रोपावर कम्पनीका शेयर विभिन्न ब्रोकरमार्फत बल्क म्याचिङ भएका छन् । यीमध्ये एनबी समूहको लगानी रहेको नेशनल हाइड्रोपावर कम्पनीको कुल कारोबार भएका ४७ हजार शेयर त्यही समूहभित्र कारोबार भएको बुझिएको छ । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढेको छ ।

मङ्गलवार कारोबारमा आएका ७ समूह मध्ये 'अन्य’ समूहको परिसूचक स्थिर रहयो भने बैङ्किङबाहेक सबैका समूहका परिसूचक घटे । यस दिन  हयात होटलको शेयरमूल्य स्थिर रहँदा र सोल्टी होटलको शेयरमूल्य रू.४ ले घट्दा होटल समूहको परिसूचक सबैभन्दा धेरै ४ दशमलव ५२ अङ्कले घटयो । बीमा, विकास बैङ्क, जलविद्युत् र वित्त कम्पनीको परिसूचक घटेका छन् ।

मङ्गलवार नेप्सेसँगै कारोबार रकम, कम्पनी, शेयर र कारोबार सङ्ख्या पनि बढेका छन् । यस दिन ९५ कम्पनीका १ हजार ५ सय ४८ कारोबारबाट १ लाख ३५ हजार  शेयर किनबेच भएका छन् । यसबाट रू. २ करोड ३५ लाखभन्दा धेरै रकम परिचालन भएको छ भने  रू. ३ खर्ब ६ अर्ब रकमको कुल बजार पूँजीकरण भएको छ ।

यस दिन ४१ कम्पनीको शेयरमूल्य बढयो, ३६ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रहयो । यस दिन कारोबार सङ्ख्याको आधारमा ज्योति विकास बैङ्कको सबैभन्दा धेरै ३ सय २० कारोबार भयो भने शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर किनबेच भए । त्यसैगरी कारोबार रकमको आधारमा चिलिमे जलविद्युत् कम्पनीको सबैभन्दा धेरै रू.५३ लाखभन्दा बढीको कारोबार भयो । मङ्गलवार स्टयाण्डर्ड चार्टर्ड बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू.३६ ले बढयो भने नेपाल बङ्गलादेश बैङ्क र आईएमई फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै रू. १८ ले घटे ।

Admin 2011-05-11