नेप्से अझै बढ्न सकेन
भदौ २७, काठमाडौं (अस) । मङ्गलवार पनि नेप्से परिसूचक दिनभर अघिल्लो दिन बन्द भएको बिन्दुभन्दा तल नै रह्यो । मङ्गलवार व्यापार समूहको परिसूचकबाहेकका परिसूचक बढ्न नसकेपछि नेप्से घटेको हो । नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले घटेर ३ सय २५ दशमलव ७८ बिन्दुमा आइपुगेको छ । पछिल्लो समयमा औसत दैनिक रू. २ करोड रकम परिचालन हुँदै आएको भए पनि मङ्गलवार रकम परिचालन पनि घटेको छ । रकम परिचालन रू. १ करोड ८० लाख २५ हजार ६ सय ८५ मा सीमित भएको छ । नेप्सेजस्तै सेन्सेटिभ परिसूचक र फ्लोट परिसूचक पनि घटे ।
मङ्गलवार खरीद-विक्री भएका ७ समूहमध्ये विकास बैङ्क, जलविद्युत्, 'अन्य’, बीमा, वित्त कम्पनी र बैङ्किङ समूहको परिसूचक घटे । यी समूहको परिसूचक क्रमश: शून्य दशमलव ५४, शून्य दशमलव ५२, शून्य दशमलव ४९, शून्य दशमलव ४७, शून्य दशमलव ४१ र शून्य दशमलव ३५ प्रतिशतले घटे । विशालबजार कम्पनीको शेयरमूल्य रू. ५३ ले बढेपछि व्यापार समूहको परिसूचक १ दशमलव ८८ प्रतिशतले बढेको हो । विकास बैङ्कतर्फका शुभेच्छा, स्वावलम्बन, अरनिको, सहयोगीलगायत विकास बैङ्कको शेयरमूल्य घटेका छन् । अरुण भ्याली र नेशनल हाइड्रोपावरको शेयरमूल्य बढे पनि चिलिमेको शेयरमूल्य रू. १३ ले घटेपछि जलविद्युत् समूहको परिसूचक घटेको हो । गुराँस लाइफ, नेपाल लाइफलगायतको शेयरमूल्य घटेपछि बीमा समूहको र नेपाल टेलिकमको शेयर मूल्य रू.२ ले घटेपछि 'अन्य’ समूहको परिसूचक घटेको हो । बैङ्किङ समूहका ग्लोबल, नेपाल बङ्गलादेश, कुमारी, नेपाल एसबीआई, एनएमबीलगायत बैङ्कको शेयरमूल्य घटे । त्यसैगरी, युनाइटेड, भ्याली, आईसीएफसी, युनिभसललगायत वित्त कम्पनीको शेयरमूल्य घटे ।
मङ्गलवार कम्पनी र शेयर सङ्ख्या घटे पनि खरीद-विक्री सङ्ख्या बढेको छ । सो दिन १ हजार ७ सय ३४ खरीद-विक्रीबाट ८५ कम्पनीका १ लाख १९ हजार ३ सय ३१ शेयर किनबेच भए, जसबाट रू. २ खर्ब ९० अर्बको कुल बजार पूँजीकरण भयो । मङ्गलवार २३ कम्पनीको शेयरमूल्य बढयो, ४७ कम्पनीको शेयरमूल्य घटयो, भने बाँकीको स्थिर रह्यो ।
मङ्गलवार किनबेच भएका शेयर सङ्ख्या र रकम परिचालनको आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ४५ हजारभन्दा बढी शेयर विभिन्न ब्रोकरमार्फत खरीद-विक्री भई २२ लाख ७४ हजार १ सय ९६ रकमको कारोबार भयो । निकै न्यून कारोबार हुने गरेको नेशनलको केही महीनायता शेयरमूल्य १ सयभन्दा तल पुगेपछि कारोबार बढ्न थालेको छ । खरीद-विक्रीका आधारमा कामना विकास बैङ्क अग्रस्थानमा रह्यो । बैङ्कको ३ सय २१ पटक शेयर किनबेच भयो । सो दिन नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ५ दशमलव ५७ प्रतिशतले बढयो भने शुभेच्छा विकास बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै ८ दशमलव ८८ प्रतिशतले घटयो ।
Admin 2011-09-14