बुटवल पावर र एभरेष्ट बैङ्कले बढाए नेप्से
चैत २७, काठमाडौं (अस)। साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार भयो । कुल ६ समूहको कारोबार भएकोमा बैङ्किङ तथा जलविद्युत् समूहका परिसूचक बढेपछि नेप्से बढेको हो । बैङ्किङ समूहको परिसूचक साढे एक अङ्कले बढयो भने जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै साढे २३ अङ्कमाथि पुग्यो । बैङ्किङ समूहमा सूचीकृत अन्य कम्पनीहरूको मूल्य पहिलेजस्तै स्वभाविक नै रहे पनि एभरेष्ट बैङ्कको साधारण तथा परिवर्त्य अग्राधिकार शेयरको मूल्यमा उच्च वृद्धि भएपछि यो समूहको परिसूचक बढेको हो । एभरेष्टका साधारण र परिवर्त्य अग्राधिकार शेयरको मूल्य क्रमशः रू. ५८ र ४३ ले बढेर १ हजार ९७ र ८ सय ४५ पुगे । त्यसैगरी, जलविद्युत् समूहमा सूचीकृत चिलिमे र अरुणभ्यालीको शेयर मूल्य सामान्य घटे पनि बुटवल पावर कम्पनीको प्रतिशेयर मूल्य रू. ५३ ले बढेपछि यो समूहको परिसूचकमा उच्च वृद्धि भएको देखिन्छ ।
आइतवार नेप्से १ दशमलव १८ अङ्कले बढेपछि 'क' वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक तथा सर्वसाधारणले सजिलै खरीद-विक्री गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचकमा पनि सामान्य सुधार भयो । त्यसैगरी, विकास बैङ्क तथा वित्त कम्पनी समूहका परिसूचक २-२ अङ्कले घटे, बीमा कम्पनी समूहको परिसूचक १ अङ्क तल झर्यो भने 'अन्य' समूहको परिसूचक स्थिर रहयो । आइतवार नेप्से परिसूचकसँगै कारोबार रकम, कारोबार सङ्ख्या, शेयर सङ्ख्या, कारोबार भएका कम्पनी तथा कुल बजार पूँजीकरणमा पनि वृद्धि भयो । यसले बजारमा थप लगानीकर्ताको प्रवेश भएको वा थप लगानी भित्रिएको सङ्केत गर्छ । फलस्वरूप, बजारको सुधार जारिरहने देखिन्छ ।
आइतवार २ हजार ४ सय ७ कारोबारबाट ८४ कम्पनीका कुल १ लाख ११ हजार ६ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ करोड ५४ लाखभन्दा धेरैको कारोबार भयो भने ३ खर्ब २५ अर्ब ३४ करोडको कुल बजार पूँजीकरण भयो । कारोबार रकमका आधारमा रू. ४८ लाख ३४ हजारभन्दा धेरैको रकम परिचालन गरेर नेपाल टेलिकम सबैभन्दा अग्रस्थानमा रहयो । किनबेच भएका शेयर सङ्ख्याका आधारमा एल्पिक एभरेष्ट फाइनान्सको संस्थापक शेयर सबैभन्दा अगाडि रहयो । यसका कुल १८ हजार कित्ता संस्थापक शेयर २५ र १६ नम्बर ब्रोकरबाट किनबेच भएका थिए । त्यसैगरी, कारोबार सङ्ख्याका आधारमा भ्याली फाइनान्स सबैभन्दा अघि देखियो । भ्यालीका शेयर कुल १ हजार ७ पटक किनबेच भए । आइतवारको कारोबारमा बुटवल पावर कम्पनीको शेयर सबैभन्दा धेरै लगभग ८ प्रतिशत महँगो भयो भने हिमालयन फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै लगभग १० प्रतिशत सस्तो भयो ।
Admin 2011-04-11