शेयरमूल्य बढ्ने कम्पनीको सङ्ख्या वृद्धि, बजार अझै माथि
असार २८, काठमाडौं (अस) । दोस्रो बजारमा शेयरमूल्य बढ्ने कम्पनीहरूको सङ्ख्या धेरै हुँदै गएपछि नेप्से परिसूचकले पनि थप उचाइ कायम गर्दै गएको छ । मङ्गलवारको कारोबारमा पनि शेयरमूल्य घट्ने कम्पनीभन्दा बढ्ने कम्पनी धेरै भएपछि नेप्से ६ अङ्कले बढयो । लगभग ३ हप्ता पहिला २ सय ९२ बाट शुरू गरेको नेप्सेमा सुधार जारी रहेपछि बजार थप बढ्ने अनुमानमा शेयरमूल्य बढ्ने कम्पनीको सङ्ख्या वृद्धि हुन थालेको छ । दुई हप्ता पहिला सीमित कम्पनीहरूको मूल्यमा भएको उच्च वृद्धिले नेप्से परिसूचकलाई पनि बढाएको थियो । मङ्गलवार ४५ कम्पनीको शेयरमूल्य बढेपछि लगानीकर्ताहरूले प्रतिशेयर रू. १ देखि १ सय ९५ सम्म कमाउन सफल भए । सबैभन्दा धेरै कमाउनेमा नेपाल एक्सप्रेस र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका संस्थापक शेयरधनीहरू रहे । ती कम्पनीका संस्थापकहरूले क्रमश: प्रतिकित्ता रू. १ सय १५ र १ सय ९५ कमाए ।
त्यसैगरी, सर्वसाधारण लगानीकर्ताहरूमध्ये बुटवल पावर कम्पनीका शेयरधनीहरूले सबैभन्दा धेरै प्रतिशेयर रू. ५७ कमाए भने प्रोफेशनल विकास बैङ्कका शेयरधनीले सबैभन्दा धेरै रू. १४ गुमाए । मङ्गलवार नेप्से बढेर ३ सय ५२ दशमलव २२ सम्म पुग्यो । नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक पनि बढे ।
मङ्गलवार कारोबार भएका ६ समूहमध्ये बीमाबाहेक सबै समूहका परिसूचक बढे । जलविद्युत्, 'अन्य’, बैङ्किङ, वित्त कम्पनी र विकास बैङ्क समूहका परिसूचक क्रमश: २६ दशमलव ३४, १७ दशमलव ६२, ४ दशमलव ९, १ दशमलव ६१ र शून्य दशमलव १८ ले बढे । बीमा समूहको परिसूचक भने शून्य दशमलव ९५ अङ्कले घटयो ।
मङ्गलवार नेप्से बढे पनि रकम परिचालन, कारोबार सङ्ख्या, शेयर सङ्ख्या र कम्पनी सङ्ख्यामा भने खासै वृद्धि देखिएन । तर, कुल बजार पूँजीकरण भने बढयो । कुल ८ सय ७८ कारोबारबाट ७६ कम्पनीका ८७ हजार ५ सय ९५ कित्ता शेयर किनबेच भए । त्यसबाट रू. २ कारेड ५२ लाख रकम परिचालन भयो भने रू. ३ खर्ब १७ अर्बको कुल बजार पूँजीकरण भयो । कारोबारमा आएका २४ कम्पनीको शेयर मूल्य घटयो ।
मङ्गलवार ५२ कारोबार भएको पशुपति डेभलपमेण्ट बैङ्क कारोबार सङ्ख्याका आधारमा अग्रस्थानमा रह्यो । त्यसैगरी, शेयर सङ्ख्याका आधारमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको संस्थापक शेयर अग्रस्थानमा रह्यो । श्री इन्भेष्टमेण्टका कुल ११ हजार ३ सय ६० कित्ता शेयर किनबेच भए । साथै, रू. २६ लाख ८४ हजारको कारोबार भएको बैङ्क अफ काठमाण्डू कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो ।
Admin 2011-07-13