नेप्से समान्य बढयो
वैशाख २८, काठमाडौं (अस)। साताको चौथो दिन बुधवार नेप्से र कारोबार रकम दुवै बढेका छन् । कारोबारमा आएका ६ मध्ये ४ समूहको परिसूचक बढेपछि नेप्से बढेको हो । मङ्गलवार सर्वोच्च अदालतले ५० लाख वा सोभन्दा बढीको घरजग्गा खरीदमा चेकबाट मात्र कारोबार गर्नुपर्ने यसअघिको निर्णयखारेज गरेपछि लगानीकर्ताहरूको मनोबल उकास्न यसले पनि मद्दत पुगेको विश्लेषण गरिएको छ । नेप्से शून्य दशमलव ५८ अङ्कले बढेर ३ सय ४४ दशमलव ६७ बिन्दुमा आइपुगेको छ । बुधवार पिपुल्स फाइनान्सको ४६ हजारभन्दा बढी कित्ता शेयर बल्क म्याचिङ भएको छ । कम्पनीको शेयर १४ नम्बर ब्रोकरबाटै किनबेच भएका छन् । यी शेयरहरू कम्पनीको संस्थापक शेयर सदस्यहरूबीच किनबेच भएको बुझिएको छ । यस दिन नेप्सेसँगै 'क’ वर्गमा सूचीकृत कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक बढेको छ भने सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरहरूको कारोबार मापक फ्लोट परिसूचक घटेको छ ।
यस दिन बढेर कारोबार भएका समूहमध्ये जलविद्युत् समूहको परिसूचक सबैभन्दा धेरै ३ दशमलव ७५ अङ्कले बढयो । कारोबारमा आएका अरुण भ्याली, चिलिमे र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेपछि यो समूहको परिसूचक बढेको हो । यस दिन बीमा, विकास बैङ्क र बैङ्किङ समूहको परिसूचक सामान्य बढेका छन् । वित्त र अन्य समूहको परिसूचक भने घटेका छन् ।
बुधवार नेप्से र कारोबार रकम बढे पनि कम्पनी सङ्ख्या, शेयर र कारोबार सङ्ख्या घटेका छन् । यस दिन ७५ कम्पनीका १ हजार ४ सय ४३ कारोबारबाट १ लाख २४ हजार शेयर किनबेच भएका छन् । यसबाट रू. २ करोड ५९ लाखभन्दा धेरै रकम परिचालन भएको छ भने रू. ३ खर्ब ६ अर्ब रकमको कुल बजार पूँजीकरण भएको छ ।
यस दिन ३५ कम्पनीको शेयरमूल्य बढयो, २८ कम्पनीको शेयरमूल्य घटयो भने बाँकीको स्थिर रहयो । यस दिन कारोबार सङ्ख्याको आधारमा युनिक फाइनान्सको सबैभन्दा धेरै १ सय ५९ कारोबार भयो । शेयर सङ्ख्या र कारोबार रकमको आधारमा पिपुल्स फाइनान्स अग्रस्थानमा रहयो । फाइनान्सको कुल ४६ हजार ३ सय ६८ शेयरको किनबेच भई रू. १ करोड ७ लाखभन्दा बढीको कारोबार भयो । बुधवार नबिल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रू. २० ले बढयो भने लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै रू. २० ले घटयो ।
Admin 2011-05-12