नेप्से करीब २ प्रतिशतले घटयो
भदौं २८, काठमाडौं (अस)। बुधवार केही बैङ्कको शेयरमूल्य उच्चले घटेपछि नेप्से करीब २ प्रतिशतले घटयो । बुधवार बैङ्क अफ काठमाण्डू, नेपाल स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेण्टलगायत बैङ्कहरूको शेयरमूल्य उच्चले घटेका छन् । बैङ्क अफ काठमाण्डूको शेयरमूल्य रू. १ सय १, स्टयार्ण्डर्ड चार्टर्डको रू. १ सय ४०ले घटे भने नबिल, एभरेष्ट, नेपाल एसबीआई, नेपाल इन्भेष्टमेण्टको शेयरमूल्य रू. १० देखि ३७ सम्म घटेका छन् । नेप्सेमा सूचीकृत कम्पनीमध्ये अधिकांश बैङ्क तथा वित्तीय संस्था रहेका छन् । यी कम्पनीहरूको शेयरमूल्यमा हुने उतारचढावले नेप्से परिसूचकमा प्रभाव पर्ने गरेको छ । नेप्से १ दशमलव ९७ प्रतिशतले घटेर ३ सय १९ दशमलव ३६ बिन्दुमा आइपुगेको छ । नेप्सेसँगै सेन्सेटिभ र फ्लोट परिसूचक पनि घटे ।
बुधवार कारोबारमा आएका सात समूहमध्ये बीमा समूहको परिसूचक मात्र बढेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले बढेपछि बीमा समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशतले बढेको हो । बैङ्किङ, 'अन्य’, जलविद्युत्, विकास बैङ्क, वित्त कम्पनी र होटल समूहको परिसूचक घटे । यी समूहको परिसूचक क्रमश: ३ दशमलव ५४, १ दशमलव २३, १ दशमलव ३, शून्य दशमलव ८५, शून्य दशमलव ४२ र शून्य दशमलव १ ले घटे । नेपाल टेलिकमको शेयरमूल्य रू. २ ले घटेपछि 'अन्य’ समूहको परिसूचक घटयो भने चिलिमे जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ३० ले घटेपछि जलविद्युत् समूहको परिसूचक घटेको हो । बिजनेश, अरनिको, शुभेच्छालगायत विकास बैङ्कको शेयरमूल्य घटेपछि विकास बैङ्क समूहको परिसूचक घटयो । वित्त कम्पनी समूहका श्री इन्भेष्टमेण्ट, हिमालयन, बुटवल, युनिकलगायत फाइनान्सको शेयरमूल्य घटे । होटल समूहको ओरियण्टल होटलको शेयरमूल्य रू. १ ले घटेपछि यो समूहको परिसूचक घटेको हो ।
बुधवार खरीद-विक्री सङ्ख्या घटे पनि शेयर सङ्ख्या र रकम परिचालन बढे । सो दिन ८५ कम्पनीका १ हजार ४ सय २८ कारोबारबाट १ लाख ७ सय ७० कित्ता शेयर किनबेच भए । उक्त कारोबारबाट रू. २ करोड ५४ लाख रकम परिचालन भयो भने रू. २ खर्ब ८४ अर्बको बजार पूँजीकरण भयो । बुधवार रू. ४७ लाख २८ हजार १ सय ५५ बराबरको शेयर किनबेच भएर स्ट्याण्डर्ड चार्टर्ड बैङ्क सबैभन्दा धेरै कारोबार गर्नेको सूचीमा उक्लियो । बुधवार बैङ्क अफ काठमाण्डूको शेयरमूल्य सबैभन्दा धेरै १९ दशमलव शून्य २ प्रतिशत सस्तियो भने नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ६ दशमलव २९ प्रतिशत महँगो भयो ।
Admin 2011-09-15